काठमाडौं । नेपालमा मोबाइल ब्रोडब्यान्ड इन्टरनेट सेवाको प्रयोगकर्ता संख्या २०८२ असोज मसान्तसम्म २ करोड ६८ लाख हाराहारी पुगेको छ। यो संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ करोड ३७ लाख ४६ हजार रहेको थियो। एक वर्षको अन्तरालमा ३० लाख ५० हजारभन्दा बढी प्रयोगकर्ता थपिएको दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ।
कुल प्रयोगकर्तामध्ये नेपाल टेलिकम अग्रस्थानमा रहेको छ। २०८२ असोज मसान्तसम्म टेलिकमका मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता १ करोड ५० लाख १५ हजार ५४१ पुगेका छन्। थ्रीजीका ७ लाख २३ हजार ८२ तथा फोरजीका १ करोड ४२ लाख ९२ हजार ४५९ प्रयोगकर्ता रहेका प्राधिकरणले जनाएको छ।
एनसेलका मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता भने १ करोड १७ लाख ८१ हजार १२२ मा सीमित भएका छन्। कम्पनीका थ्रीजी प्रयोगकर्ता ९२ हजार २१० र फोरजी प्रयोगकर्ता १ करोड १६ लाख ८३ हजार ११२ रहेका छन्।
फोरजी सेवामा टेलिकमको ग्राहक वृद्धि उल्लेख्य रहेको प्रतिवेदनले देखाएको छ। २०८१ असोज मसान्तसम्म १ करोड १५ लाख २२ हजार ६४१ रहेका टेलिकमका फोरजी प्रयोगकर्ता एक वर्षमै २७ लाख ६९ हजार ८१८ ले बढ्दै १ करोड ४२ लाख ९२ हजार ४५९ पुगेका छन्। एनसेलका फोरजी प्रयोगकर्ता भने सोही अवधिमा १ लाख २० हजार २९२ ले घटेका छन्। २०८१ असोजमा १ करोड १८ लाख ३ हजार ४०४ रहेका फोरजी प्रयोगकर्ता २०८२ असोजसम्म आइपुग्दा १ करोड १६ लाख ८३ हजार ११२ मा झरेका छन्।
थ्रीजी सेवामा पनि टेलिकमको ग्राहक वृद्धि देखिएको छ। अघिल्लो वर्षको असोजमा २ लाख ३६ हजार ९६९ रहेका थ्रीजी प्रयोगकर्ता एक वर्षमा बढ्दै ७ लाख २३ हजार ८२ पुगेका छन्। तर एनसेलका थ्रीजी ग्राहक भने सोही अवधिमा १ लाख ८३ हजार ४५४ बाट घट्दै ९२ हजार २१० मा सीमित भएका छन्।
आर्थिकन्यूज