काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि एकै दिन ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्न लागेको हो।
१८ दिने निक्षेप संकलन उपकरणको पुस १३ गते साँवा तथा ब्याज भुक्तानी गर्ने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुनेछ । राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने छ ।
उक्त निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा हुने छ । साथै, बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।
आर्थिकन्यूज