काठमाडौं। लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको इलिमिनेटको खेलमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी दोस्रो क्वालिफायरमा पुगेको हो।
अब दोस्रो क्वालिफायरमा लुम्बिनीले बिहीबार विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ। यो खेलको विजेताले शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।
बुधबार काठमान्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। जसमा डार्सी सर्टले सर्वाधिक ३३ रनको योगदान गरे । काठमाडौँका सन्तोष यादवले दुई विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको काठमान्डुले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १११ रनमा समेटियो । काठमाडौँका लागि सन्तोष यादवले सर्वाधिक २३ रनको योगदान दिए । उनले १७ बलमा एक छक्काको सहयोगमा २३ रन जोडेका हुन् ।
त्यसैगरी, जोन सिमसन र मोहमद आदिल आलमले समान १८-१८ रन जोडे भने भीम सार्कीले १४ रन बनाए । कप्तान करण केसी नौ रनमा आउट भए।
काठमान्डुलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले समान तीनरतीन विकेट लिए । यस्तै ट्रम्पलम्यानले दुई विकेट लिए भने अभिशेष गौतमले एक विकेट झारे ।
आजको खेलमा जित निकालेसँगै लुम्बिनीले भोलि बिहीबार विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ। यो खेलको विजेता फाइनलमा पुग्नेछ।
यसअघि सुदूरपश्चिमले फाइनलमा स्थान पक्का गरिसकेको छ। सुदूरपश्चिमले पहिलो क्वालिफायरको खेलमा विराटनगरमाथि मंगलबार जित हात पारेको थियो। फाइनल प्रतिस्पर्धा शनिबार अपरान्ह साढे तीन बजे हुनेछ।
आर्थिकन्यूज