काठमाडौं । बैक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर ओरालो लागेको छ । वित्तीय संस्थामा अधिक तरलता र कर्जा प्रवाह खुम्चिएपछि कर्जाको ब्याजदर ओरालो लागेको हो । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक महिनासम्म वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ७.३८ प्रतिशतमा झरेको छ ।
अर्थतन्त्रमा शिथिलता आएसँगै कर्जाको माग घटेपछि ब्याजदर पनि घट्दो क्रममा छ । पैसा थुप्रिएपछि बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर घटाउदै लगेका हुन्। बैंकहरुले गत एकवर्ष यतादेखि लगातार निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घटेसँगै बैंकहरुको लागत घट्न गई आधारदर (बेस रेट) सस्तिँदा कर्जाको ब्याजदर पनि थप घटेको हो ।
अहिले वाणिज्य बैंकहरुको औसत आधार दर घटेर ५.४१ प्रतिशतमा झरेको छ । बैंक तथा वित्तीय संस्थाको आधार दर भन्नाले मुख्यतः संस्थाको लागतको आधारमा गणना गरिएको दर भन्ने बुझिन्छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधार दर अर्थात बेस रेट हो ।
बैंकहरुमा अधिक तरलता रहेको कारण बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा थप्ने प्रिमियम दर समेत घटाएका छन् । तरलता कम हुँदा ५ प्रतिशतसम्म प्रिमियम थप गर्ने बैंकहरु अहिले एक डेढ प्रतिशत प्रिमियम थपेर कर्जा दिन थालेका छन्। कतिपय बैंकहरुले आधार दरमा नै विभिन्न किसिमका कर्जाहरु प्रवाह गर्न थालेका छन् । बैंकको आधार दर घट्दै गएकाले पनि कर्जाको ब्याजदर निरन्तर घट्दो क्रममा रहेको छ ।
कात्तिक महिनामा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ७.३८ प्रतिशत रहेको छ । यो साढे ३ वर्ष यताकै सस्तो हो । यसअघि २०७८ माघमा बैंकहरुको कर्जाको ब्याजदर औसत ९.४४ प्रतिशत थियो ।
त्यसयता औसत ब्याजदर बढ्दै १३.०३ प्रतिशतसम्म पुगेकोमा अहिले घट्दै आएर साढे ७ प्रतिशत भन्दा मुनि झरेको हो । बैंकहरुलै प्रवाह गर्ने सबै प्रकारका कर्जाको औसत ब्याजदर एकल अंकमा रहेकोे छ।
राष्ट्र बैंकका अनुसार विपन्न वर्गमा प्रवाह हुने कर्जाको ब्याजदर सबैभन्दा कम ६.३५ प्रतिशतमा आएको छ । सबैभन्दा उच्च ब्याजदर रहेको अन्य कर्जाको ब्याजदर ८.०८ प्रतिशत रहेको छ । यस्तै, अन्य सबै प्रकारको कर्जाको ब्याजदर यहीबीचमा रहेको छ । शेयर धितो कर्जाको ब्याजदर ७.४० प्रतिशतमा झरेको छ ।
कर्जाको ब्याजदर एकल अंकमा आएको अवस्था र राष्ट्र बैंकले समेत मौद्रिक नीतिमार्फत ब्याजदर घटाउने लक्ष्य लिएको छ । न्युन ब्याजदर रहदा नेपाली अर्थतन्त्रमा लगानीका लागि उपयुक्त वातावरण निर्माण भएको छ । पछिल्लो समयमा बैंकहरुले घर कर्जा, सवारी कर्जा तथा शेयर कर्जाका आकर्षक योजनाहरु ल्याएर कर्जा विस्तारलाई जोड दिएका छन् ।
मौद्रिक नीतिले समेत घर कर्जा तथा शेयर कर्जाको नीति केही खुकुलो बनाएको छ । साथै चालु आवको मौद्रिक नीतिको पहिलो समीक्षा मार्फत ओभरड्राफ्टा कर्जाको सीमा ५० लाखबाट बढाएर १ करोड पुर्याइएको छ । यसले आगामी दिनमा यस क्षेत्रमा अझै कर्जा विस्तार हुने आँकलन गरिएको छ।
बैंकहरूको औसत ब्याजदर ७.३८ प्रतिशतमा आएसँगै कतिपय कर्जाको ब्याजदर ८ प्रतिशत भन्दा तल आएको छ । कृषि, वन र पेय पदार्थ उत्पादन, माछापालन, बिजुली, ग्यास र पानी, धातु उत्पादन, मेसिनरी, इलेक्ट्रोनिक उपकरण, थोक बिक्रेता र खुद्रा बिक्रेता तथा वित्त, बिमा र घर जग्गा लगायतका कर्जाको ब्याजदर ८ प्रतिशत भन्दा तल झरेका छन् । यातायात, सञ्चार र सार्वजनिक उपयोगिताका, होटल वा रेस्टुरेन्ट र अन्य सेवा क्षेत्रमा प्रवाह हुने कर्जाहरुको औसत ब्याजद पनि ८ प्रतिशत भन्दा कम छ । उपभोग्य र अन्य कर्जाको ब्याजदर मात्र ८ प्रतिशत भन्दा माथि रहेको छ ।
अहिले बैंक वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात (सीडी) ७४.१२ प्रतिशतमा झरेको छ । बैंक वित्तीय संस्थाहरुले कर्जा निक्षेप अनुपात (सीडी) ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था छ। बैंकहरुको कर्जा निक्षेप अनुपात निकै सहज अवस्थामा रहेकाले पनि कर्जा विस्तारका लागि प्रशस्त स्पेस देखिन्छ ।
सीडीका आधारमा बैंक वित्तीय संस्थाहरूसँग झण्डै साढे ११ खर्ब लगानीयोग्य रकम रहेको छ । पछिल्लो तथ्यांक अनुसार अहिले बैंकहरुमा ७५ खर्ब ५३ अर्ब निक्षेप पुगेको छ भने ५६ खर्ब ६३ अर्ब मात्र कर्जा लगानी गरेका छन् ।
पछिल्लो समय बैंकहरुले निक्षेपको ब्याजदरका साथसाथै कर्जाको ब्याजदर पनि घटाउँदै लगेका छन् । तर, पनि कर्जा प्रवाह अपेक्षितरुपमा हुन सकेको छैन । कर्जा प्रवाह नभएपछि बैंकहरुले निक्षेपकर्तालाई दिने भन्दा सस्तो ब्याजदरमा राष्ट्र बैंकमा निक्षेप उपकरणमार्फत पैसा राखिरहेका छन् ।
आर्थिकन्यूज