शीर्षकहरू

सुस्त अर्थतन्त्र र खराब कर्जाको दबाबमा बैंकहरुको 'ब्यालेन्ससिट', निरन्तर घट्दै नाफा

१५ वाणिज्य बैंकको नाफा घट्यो, ७ बैंक अर्ब क्लबमा (सूचीसहित)

सुस्त अर्थतन्त्र र खराब कर्जाको दबाबमा बैंकहरुको 'ब्यालेन्ससिट', निरन्तर घट्दै नाफा

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुको नाफा निरन्तर घट्दै गएको छ । गत भदौमा भएको जेनजी आन्दोलनको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थाको ब्यालेन्स सिटमा देखिन थालेको छ । बैंकहरुको कर्जा असुली प्रभावित भएको छ भने अर्कातर्फ कर्जा विस्तार समेत हुन नसक्दा आम्दानी खुम्चिएको हो ।

चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ४ महिनामा पनि वाणिज्य बैंकको नाफा घटेको छ । चालु आवको कार्तिकसम्म वाणिज्य बैंकको नाफा १३.११ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । गत आवको कार्तिक मसान्तसम्म २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका वाणिज्य बैंकहरुले चालु आवको सोही अवधिमा १९ अर्ब ३७ करोड ५४ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेका छन् । 

बैंकहरुको नाफा घट्नुमा सबैभन्दा ठूलो प्रभाव खराब कर्जा बढ्नु रहेको छ । कर्जा असुली सुस्त हुँदा बैंकहरुले ठूलो मात्रामा प्रोभिजन (जोखिमका लागि छुट्याइने कोष) बढाउनुपरेको छ । जसले नाफा घटाएको हो। धेरै बैंकहरुको खराब कर्जा पाँच प्रतिशतभन्दा माथि पुगेको अवस्था छ ।

नियामकिय व्यवस्था अनुसार अतिरिक्त प्रोभिजन राख्नुपर्ने बाध्यताले बैंकहरुको लागत झन् बढाएको छ । त्यसमाथि ऋणीहरुको कर्जा तिर्ने दर कमजोर हुँदा जोखिम बढेको र नाफा घट्दै गएको बैंकिङ क्षेत्रका विश्लेषकहरूको बुझाइ छ।

अर्कोतर्फ, देशको आर्थिक गतिविधि सुस्त भएपछि कर्जा माग घटेको छ । बैंकहरुमा तरलता प्रशस्त रहे पनि लगानीयोग्य क्षेत्र नबढ्दा ब्याज आम्दानी कमजोर भएको छ । यसले बैंकहरुको खुद ब्याज आम्दानीमा दबाब परेको छ । जसले गर्दा धेरैजसो बैंकहरुको नाफा घट्न पुगेको हो । अहिले बैंकहरुमा ११ खर्ब भन्दा बढी लगानीयोग्य रकम रहेको छ । बैंकहरुले लगानी गर्न नसकेको ८ खर्ब ७५ अर्ब बराबरको रकम राष्ट्र बैंकका विभिन्न उपकरणमा लगानी गरेका छन् ।

पछिल्लो अढाई बर्ष यतादेखि निक्षेप तथा कर्जाको ब्याजदर घट्दै आइरहेको छ । ब्याजदर ओरालो लागेकाले निक्षेप र कर्जाको ब्याजअन्तर समेत घट्दै आएको छ । बैंकहरुको स्प्रेडदर घटेकाले पनि नाफा थप संकुचित भएको हो । 

१५ वटा बैंकको नाफा घट्दा ५ वटाको मात्र वृद्धि 

सञ्चालनमा रहेका २० बैंक मध्ये १५ वटा बैंकको नाफा घटेको छ भने ५ वटाको वृद्धि भएको छ ।

यस अवधिमा सबैभन्दा धेरै सिटिजन्स बैंक इन्टरनेशनलको नाफा ९६.२५ प्रतिशतले घटेको छ । गत वर्ष ४३ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको बैंकले यस वर्ष १६ लाख रुपैयाँमा खुम्चिएको छ।

यसैगरी,नेपाल इनभेष्टमेन्ट मेगा बैंकको नाफा ६५.३५, लक्ष्मी सनराइज बैंकको ४१.२६, प्रभु बैंकको ४०, नेपाल एसबीआई बैंकको ३३.२७, कुमारी बैंकको २५.७९ र स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा १९.४७ प्रतिशतले घटेको छ । 

यसैगरी, एनएमबी बैंकको नाफा १४ प्रतिशतले घट्दा माछापुच्छ्रे बैंकको ११.५७, एनआईसी एसिया बैंकको ११.५२, हिमालय बैंकको १०.४०, नबिल बैंकको ८.३२, प्राइम कमर्सियल बैंकको २.४८ र सिद्धार्थ बैंकको खुद नाफा ०.७५ प्रतिशतले गिरावट आएको हो । 

गत आवको ४ महिनामा खुद घाटा व्योहोरेको कृषि विकास बैंकले भने यस अवधिमा ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै नाफा वृद्धि गरेको छ । यस बैंकको नाफा १०५.२३ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, सानिमा बैंकको खुद नाफा १९।६५, ग्लोबल आईएमई बैंकको खुद नाफा १८.९१ र एभरेष्ट बैंकको खुद नाफा ०.२७ प्रतिशतले वृद्धि भएको हो । 

७ बैंक अर्ब क्लबमा 

यस अवधिमा ७ वटा बैंकले अर्ब रुपैयाँ भन्दा धेरै नाफा आर्जन गरेका छन् । जसमा सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकले २ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा प्राइम कमर्सियल नबिल बैंकले २ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ कमाएको छ । 

यसैगरी, प्राइम कमर्सियल बैंकले १ अर्ब ५८ करोड ६० लाख, एभरेष्ट बैंकले १ अर्ब ५१ करोड ३४ लाख, एनएमबी बैंकले १ अर्ब २७ करोड ५७ लाख, कुमारी बैंकले १ अर्ब १८ करोड र राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १३ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्यांक छ । 

null