काठमाडौं । मनसुनपछि हवाई यात्रामा आएको चहलपहलले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को राजस्व र यात्रु संख्या दुवैमा उल्लेख्य उछाल आएको छ। साउनयता कात्तिकसम्म निगमले स्थिर रूपमा यात्रु संख्या बढाउँदै ५ अर्ब ९६ करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ।
निगमले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार साउनमा १ अर्ब ६ करोडबाट सुरु भएको मासिक आम्दानी कात्तिकमा १ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। मासिक आम्दानी वृद्धिले बुकिङ र उडान विस्तार दुवै क्षेत्रमा माग पुनः उत्थान भइरहेको संकेत गर्छ। यसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने ग्राउन्ड ह्यान्डलिङ सेवा समावेश छैन।
यात्रु संख्या पनि समान रूपमा बढ्दो छ। साउनमा ५१ हजार १४७ यात्रुलाई सेवा दिएको निगमले कात्तिकमा संख्या बढाउँदै ५९ हजार ६ यात्रु ओसारपसार गरेको छ। चाडपर्वको यात्रु चाप कात्तिकको वृद्धि पछाडि मुख्य कारणका रूपमा देखिएको छ। चार महिनामा कुल २ लाख १६ हजार ४२२ यात्रु निगमका उडानमार्फत आवतजावत गरेका छन्।
निगमको व्यवसायीक संरचनाले अन्तर्राष्ट्रिय क्षेत्रमै उसको निर्भरता अझै बलियो रहेको देखाउँछ। कुल ५ अर्ब ९६ करोड आम्दानीमध्ये आन्तरिक उडानबाट जम्मा २ करोड २३ लाख रुपैयाँ मात्रै उठेको छ, जसको हिस्सा कुल आम्दानीको ०.३८ प्रतिशत मात्र हो।
अन्तर्राष्ट्रिय बजारमा काठमाडौँ–नारिता, काठमाडौँ–दोहा, काठमाडौँ–दुबई, काठमाडौँ–क्वालालम्पुर र काठमाडौँ–दिल्ली सबैभन्दा लाभदायक मार्ग बनेका छन्। विपरीत रूपमा, मुम्बई, बैङ्गलुरु र दमाम कम आम्दानी हुने रुटका रूपमा पहिचान भएका छन्।
हाल निगमले जापान, बैंकक, मलेसिया, हङकङ, दिल्ली, मुम्बई, बैङ्गलुरु, दोहा, दुबई र दमाममा नियमित उडान गर्दै आएको छ। यी रुटहरूबाट निगमले मासिक ५ करोडदेखि ३० करोडसम्मको राजस्व आर्जन गरिरहेको छ। वैदेशिक रोजगारी र पर्यटन आवागमनले आय वृद्धि टिकाइराख्न प्रमुख भूमिका खेलेको निगमको मूल्यांकन छ।
आर्थिकन्यूज