शीर्षकहरू

अफवाह फैलाउने गिरोहविरुद्ध कानुनी कारबाहीमा जाँदै रिलायन्स

अफवाह फैलाउने गिरोहविरुद्ध कानुनी कारबाहीमा जाँदै रिलायन्स

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बजारमा चलखेल गर्ने गिरोहविरुद्ध फौजदारी कारबाही अघि बढाउने जनाएको छ । ‘अभियन्ता’ को भेषमा रहेका असुलीकर्ताहरूको संगठित समूहले लगानीकर्तालाई त्रसित बनाउन र नियामक निकायलाई ब्ल्याकमेल गर्न कमिसनको कपोलकल्पित र भ्रामक कथा फैलाइरहेको भन्दै कम्पनीले कानुनी उपचार खोज्ने जनाएको हो ।

रिलायन्सले यसका लागि जिम्मेवार व्यक्तिहरू र मिडिया पोर्टलहरूको पहिचान गरिसकेको विज्ञप्तिमा उल्लेख गरेको छ । बजारमा ‘वित्तीय आतंक’ फैलाएको र ‘आपराधिक मानहानी’ गरेको अभियोगमा राज्यका सम्बन्धित निकायमा कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाइएको कम्पनीको भनाइ छ । ‘यी आरोपहरू शतप्रतिशत झूटा, बदनियतपूर्ण र केवल व्यक्तिगत लाभका लागि सेयर बजारमा चलखेल गर्ने उद्देश्यले नियोजित रूपमा सिर्जना गरिएका हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न अदालतहरूमा पटक(पटक रिट निवेदन लिएर जाँदा पनि असफल भएपछि यो चरित्रहत्याको अभियान सुरु गरिएको हो। कानूनी लडाइँमा पूर्ण रूपले पराजित भएपछि अहिले यो गिरोहले ुझूटको खेतीु र मनगढन्ते हल्लाको सहारा लिएको प्रष्ट छ ।’ यस प्रकारको बार्गेनिङ र ब्ल्याकमेलिङ विरुद्ध कम्पनीमा आवद्ध ४ हजार कर्मचारी र २० हजारभन्दा बढी लगानीकर्ताहरूको साथमा डटेर उभिने रिलायन्सले स्पष्ट पारेको छ ।

देशको सबैभन्दा ठूलो धागो उद्योग सञ्चालक कम्पनी रिलायन्स स्पिनिङ मिल्सलाई नेपाल धितोपत्र बोर्डले पाटन उच्च अदालतको आदेश कार्यान्वयन गर्दै अवरुद्ध रहेको आईपीओ निष्काशन प्रक्रिया सुरु गर्न स्वीकृति दिएसँगै भ्रामक र तथ्यहीन समाचार प्रकाशन भएका कम्पनीले जनाएको छ ।

यद्यपि यस्ता भ्रमले लगानीकर्तालाई कुनै प्रभाव पारेको देखिँदैन । वैदेशिक रोजगारीमा गएकाहरुका लागि निष्काशन गरेको आईपीओमा पहिलो दिन (सोमबार) नै ५।१ गुणा बढी आवेदन परेको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका लगानीकर्ताका लागि १ लाख १५ हजार ५९६ कित्ता निष्काशन गरेकोमा पहिलो दिनै ‘ओभर सब्सक्राइभ’ ५ लाख ८९ हजार ८५० कित्ताको आवेदन परेको छ ।

कम्पनीको प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा रहेको छ । बुक बिल्डिङ निर्देशिका बमोजिम बोलकबोल प्रणालीमार्फत आवेदन दिन योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।