काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण कारोबार गर्न इजाजतपत्रप्राप्त सबै विप्रेषण कम्पनी तथा बैंक-वित्तीय संस्थाहरुलाई तोकिएको नयाँ ढाँचामा विवरण पेश गर्न निर्देशन दिएको छ । विप्रेषण विनियमावली, २०७९ को विनियम ३३ अनुसार यसअघि पेश हुँदै आएका विवरणहरुमा परिमार्जन गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले रेमिट कम्पनीहरुलाई रेमिट्यान्सको विवरण नेपाली महिना सकिएको ७ दिन भित्र बुझाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले बिहीबार ‘विप्रेषण कारोबार गर्न इजाजत प्राप्त विप्रेषण कम्पनी र बैंक तथा वित्तीय संस्थाहरुका लागि रिपोर्ट फरमाट’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
नयाँ संरचना र मापदण्डअनुसार आवश्यक सबै विवरण तोकिएको ढाँचा तथा समयमै उपलब्ध गराउन अनुरोध गर्दै राष्ट्र बैंकले सूचना जारी गरेको हो। राष्ट्र बैंकका अनुसार रेमिट्यान्स कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका लागि पनि यो नियम लागू हुनेछ ।
यसैगरी देशगत रुपमा भित्रिएको रेमिट्यान्स र रेमिट कम्पनीहरूले कारवाही गरेका एजेन्टको विवरण पनि ७ दिन भित्र राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ । त्यस्तै, कुन कम्पनी मार्फत कति रेमिट्यान्स भित्रियो भन्ने तथ्यांक पनि ७ दिन भित्र राष्ट्र बैंकमा बुझाउनुपर्ने बताइएको छ । यस्तै, देशगत रेमिट्यान्स आप्रवाहको दैनिक विवरण तीन दिन भित्र राष्ट्र बैंकमा जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।
विप्रेषण् कम्पनीको संचालकको समितिको विवरण आर्थिक वर्ष सकिएको १५ दिनभित्र, प्रोभिजनन फाइनान्सीयल डिटेल त्रैमास सकिएको १५ दिनभित्र बुझाउन निर्देशन दिएको छ । साथै, परिमार्जित ढाँचाहरूसम्बन्धी सबै जानकारी राष्ट्र बैंकको सम्बन्धित विभागको वेबसाइटमा समेत अपडेट गरिएको जनाएको छ ।
आर्थिकन्यूज