काठमाडौं > नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार जारी फाइनलमा उपाधि उचाल्नका लागि सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको सहज लक्ष्य दिएको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ राजेको सुदूरपश्चिमले १९ ओभरको पहिलो बलमा सबै विकेट गुमाउँदै ८५ रन बनाएको हो । सुदूरपश्चिम ४ बलअगावै ८५ रन बनाउँदा अलआउट भयो। जारी एनपीएलमा बनेको यो सबैभन्दा कम योगफल हो।
लगातार दोस्रो पटक उपाधि नजिक पुगेको सुदूरपश्चिम उपाधि उचाल्न चाहन्छ। तर फाइनलमा सुदूरपश्चिमले सिजनकै खराब प्रदर्शन गरेको छ।
सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रन बनाए । विनोद भण्डारी ०, शेल्डोन ज्याकसोन एक, आरिफ शेख ६, कप्तान दीपेन्द्रसिंह ऐरी १३, दीपक बोहरा ०, पुनित महरा ०, अभिनास बोहरा एक, हर्मित सिंह १० र स्कट कुगेइलेन १० रनमा आउट भए । हेमन्त धामी ७ रनमा अविजित रहे।
बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक पूरा गरे । रोहित एनपीएलमा ह्याट्रिक पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि काठमाण्डु गोर्खाजका शाहव आलमले ह्याट्रिक पूरा गरेका थिए
रोहितले ११औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा विकेट लिए । शेर मल्ल र रुवेन ट्रम्पलम्यानले ३-३ र तिलक भण्डारीले एक विकेट लिए ।
सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो भने इलिमिनेटरमा काठमाडौं गोर्खाज् र दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गरेर लुम्बिनीले फाइनलमा आफ्नो स्थान बनाएको हो ।
आर्थिकन्यूज