शीर्षकहरू

उच्च तरलताले ट्रेजरी बिल खरिदमा प्रतिस्पर्धा बढ्यो, 'डिस्काउन्ट रेट' घट्दै

कर्जा नबढेपछि ट्रेजरी बिलतर्फ बैंकहरुको आकर्षण, ट्रेजरी बिलमा ६ गुणासम्म माग, सवा ११ अर्बको जारी हुँदै

उच्च तरलताले ट्रेजरी बिल खरिदमा प्रतिस्पर्धा बढ्यो, 'डिस्काउन्ट रेट' घट्दै

काठमाडौं । पछिल्लो समयमा बैंकहरुमा प्रशस्त तरलता रहेकाले ट्रेजरी बिल खरिदमा पनि मागभन्दा निकै धेरै आवेदन पर्ने गरेको छ । कर्जा लगानी गर्न नसक्दा सरकारले आन्तरिक ऋण उठाउन जारी गरेकोे ट्रेजरी बिल खरिद गर्न पनि बैंकहरुबीच उच्च प्रतिस्पर्धा देखिएको हो । पछिल्लो समयमा जारी भएका ट्रेजरी बिल खरिदका लागि ३ देखि ६ गुणासम्म माग परेको छ । ​​​​​​

ट्रेजरी बिल खरिदका लागि उच्च प्रतिस्पर्धा हुँदा डिस्काउन्ट रेट पनि घटेको छ । पछिल्लो समयमा बैंकहरुमा प्रशस्त तरलता रहेकाले अन्यत्र लगानी विस्तार नहुँदा अल्पकालीन लगानीका उपकरणहरु खरीदमा मागभन्दा निकै धेरै आवेदन पर्ने गरेको छ । जसले गर्दा व्याजदर पनि घटेको छ । 

यसैक्रममा, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंसिर २९ गते सोमबार ११ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । जसमध्ये ५ अर्बको नयाँ जारी गर्न लागेको हो भने ६ अर्ब ३३ करोडको नविकरण गर्न लागेको हो । नेपाल सरकारको राष्ट्र ऋण बोलकबोल तालिका अनुसार उक्त ट्रेजरी बिल बोलकबोल हुन लागेको हो। 

कार्यालयका अनुसार ९१ दिन अवधिको ५ अर्बको तथा १८२ दिनको ६ अर्ब ३३ करोडको नविकरणका लागि ट्रेजरी बिलको बोलकबोल हुन लागेको हो । बोलकबोलमा सोमबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन सकिनेछ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ ।

पछिल्लो समयमा बैंकहरुमा प्रशस्त तरलता रहेकाले ट्रेजरी बिलमा मागभन्दा निकै धेरै आवेदन पर्ने गरेको छ, जसले गर्दा डिस्काउन्ट रेट पनि घटेको छ । पछिल्लो समय जारी भएका ट्रेजरी बिल खरिदका लागि बैंक तथा वित्तीय संस्थाहरुले माग भन्दा ३ देखि ६ गुणाबढीसम्म बोल गरेका छन् ।  बैंक वित्तीय संस्थामा लगानी योग्य पुँजी पर्याप्त भएपछि ट्रेजरी बिलको ब्याजदरमा समेत गिरावट आएको हो ।

यसअघि गत मंसिर २२ मा बोलकबोल भएको ९१ दिन अवधिको ८ अर्ब ५० करोडको ट्रेजरी बिलको खरिदका लागि ४१ अर्ब ९५ करोड २० लाख रुपैयाँ बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट २.४८ प्रतिशत कायम भयो । त्यस्तै १८२ दिन अवधिको ८ अर्बको ट्रेजरी बिलको खरिदका लागि ४६ अर्ब ४९ करोड २० लाख बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट २.३० प्रतिशत कायम भयो । यसैगरी ३६४ दन अवधिको २ अर्बको ट्रेजरी बिलको खरिदका लागि १८ अर्ब ९१ करोड रुपैयाँ बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट २.५४ प्रतिशत कायम भयो

कर्जा लगानी गर्न नसक्दा सरकारले आन्तरिक ऋण उठाउन जारी गरेको १ वर्ष अवधिको ट्रेजरी बिल खरिद गर्न पनि बैंकहरुबीच उच्च प्रतिस्पर्धा हुने गरेको छ । ट्रेजरी बिलको डिस्काउन्ट रेट तल झरेपछि प्रतिस्पर्धा झनै बढेको देखिन्छ । अहिले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त छ । अन्य क्षेत्रमा लगानी विस्तार हुन नसक्दा बैंकहरुले सरकारी ऋणपत्रमै लगानी गरेर भए पनि आम्दानी गर्न खोजिरहेका छन्, जसले गर्दा अल्पकालीन ब्याजदरहरु समेत घट्दै गएका हुन् ।

ट्रेजरी बिल भनेको के हो ?

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् । ट्रेजरी बिल बोलकबोलको माध्यमबाट निष्कासन हुने गर्दछ । बोलकबोलमा बहु–बोलमूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ ।

बोलकबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाल नागरिक ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्दछन् । ट्रेजरी बिलको बोल आह्वान गर्दा आह्वान रकमको कम्तिमा १५ प्रतिशत रकम अप्रतिस्पर्धीको लागि छुट्याइएको हुन्छ।

ट्रेजरी बिलको बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रूपमा भाग लिन पाइदैन । अप्रतिस्पर्धीको रूपमा बोल गर्दा माग रकममात्र उल्लेख गर्नु पर्दछ, मूल्य उल्लेख गर्नु पर्दैन । प्रतिस्पर्धी बोलकबोलबाट निर्धारित भारित औसत मूल्यमा अप्रतिस्पर्धी बोलवालालाई ट्रेजरी बिल उपलब्ध गराइन्छ । एउटै बोलकबोलमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी दुवैतर्फबाट बोल गर्न भने पाइदैन ।