- वेदीका मुरारका
काठमाडौं । नेपालमा अहिले धेरै युवा आफ्नै ज्ञान सोचमा देशमै केही गर्न खोजिरहेका छन्। उनीहरू सरकारी जागिरको पछिमात्र लाग्नेभन्दा पनि आफ्नै व्यवसाय सुरु गरेर नयाँ रोजगारी सिर्जना गर्न चाहन्छन्। यस्तो नयाँ सोच भएका युवामध्ये म पनि एक हुँ।
हामीले पहिलो परियोजना 'एडुब्याग' सुरु गर्यौँ। नेपालका धेरै सरकारी विद्यालयमा विद्यार्थीहरूलाई पढ्नका लागि उचित स्थान हुँदैन। विद्यालयमा राम्रो कक्षाकोठा हुँदैन, घरमा पनि टेबल वा कुर्सी नहुने परिवार धेरै छन्। यही समस्या समाधानका लागि हामीले एउटा विशेष टू-इन-वन स्कूल ब्याग तयार गरेका हौँ। यो सामान्य ब्याग होइन, यसलाई फोल्ड गरेर टेबल (डेस्क) बनाउन सकिन्छ।
बच्चाहरूले यो ब्यागमा किताब राखेर विद्यालय जान्छन्। विद्यालय वा घरमा यसलाई खोलेर टेबल बनाएर त्यसैमा पढ्न सक्छन्। यसले उनीहरूको पढाइमा धेरै सहयोग पुर्याएको छ। विशेष गरी दुर्गम गाउँ र विपन्न परिवारका बालबालिकाका लागि यो ब्याग अत्यन्त उपयोगी छ।
यो ब्याग प्राकृतिक विपद् (जस्तै बाढी, पहिरो वा भूकम्प) को समयमा पनि उपयोगी हुन्छ, किनभने यो हल्का र सजिलै बोक्न मिल्ने खालको छ। हामीले यो सोच तीन चार वर्षअघि कलेज प्रोजेक्टका रुपमा सुरु गरेका थियौँ। अहिले यो परियोजना धेरै विद्यालय र एनजीओहरूसँग मिलेर सञ्चालन भइरहेको छ। एनजीओहरूले हामीबाट ब्याग लिएर विद्यार्थीहरूलाई निःशुल्क वितरण गर्छन्।
हाम्रो अर्को परियोजना रासन टेक्नोलोजी हो। यो परियोजना अलि फरक किसिमको छ। यो बीटूबी ग्रोसरी सेलिङ प्लेटफर्म हो। यसमा साना-साना किराना पसलहरूले आफ्नो दैनिक अर्डर हाम्रो मोबाइल एपमार्फत गर्छन्। त्यसपछि हामी ती अर्डरका सामान सिधै उत्पादकबाट लिएर पसलसम्म पुर्याउँछौँ।
नेपालमा यो क्षेत्रमा अहिलेसम्म पारदर्शिता र प्रविधिको प्रयोग निकै कमजोर छ। सबै लेनदेन हातैले हुने गर्छ र रेकर्ड राख्ने प्रणाली पनि व्यवस्थित छैन। त्यसैले हामीले यो प्रविधि ल्याएका हौँ। यसले बजारलाई डिजिटल र पारदर्शी बनाउन सघाउँछ। नेपालमा बीटूसी प्रणाली त छ, जहाँ कम्पनीले सिधा उपभोक्तालाई सामान बेच्छन् तर बीटूबी क्षेत्रमा त्यस्तो प्रविधि छैन। त्यसलाई व्यवस्थित गर्नका लागि नै हामीले रासन टेक्नोलोजीको सुरुवात गरेका हौँ।
जब हामीले यी काम गर्नका लागि कम्पनी दर्ता गर्न खोज्यौँ, त्यहीँबाट समस्या सुरु भयो। सबै कुरा अनलाइन भनिए पनि कागजी झन्झट, सिस्टम डाउन र विचौलिया खोज्नुपर्ने अवस्था अझै कायम छ। जुन कुरा लागतबिना गर्न सकिन्थ्यो, त्यसका लागि पनि पैसा खर्च गर्नुपर्ने अवस्था आयो। अनलाइनबाटै हुने काममा पनि विभिन्न सरकारी कार्यालय धाउनुपर्यो। अन्ततः वकिल र एजेन्टको सहयोगबिना दर्ता सम्भव भएन।
नेपालमा युवाहरूका लागि लगानी गर्न सकिने धेरै क्षेत्र छन्। नेपालजस्तो विकासोन्मुख देशमा अहिले पनि बेरोजगारी, वैदेशिक रोजगारी र उत्पादनमा कमी जस्ता धेरै समस्या छन्। समस्याहरूकै बीचमा प्रशस्त सम्भावना पनि छन्। साना-साना उद्यम र नयाँ सोचहरूबाट पनि अर्थतन्त्रमा टेवा पुर्याउन सकिन्छ। हामी युवाहरू सरकारी जागिरमात्र खोज्नेभन्दा पनि आफ्नै व्यवसाय सुरु गर्ने र रोजगारी सिर्जना गर्ने बाटोतर्फ लाग्नुपर्छ।
नेपालको अधिकांश जनता कृषिमा निर्भर छन् तर पुरानो तरिकाले खेती गर्दा उत्पादन कम हुन्छ। युवाहरूले आधुनिक प्रविधि, जैविक खेती र नयाँ बिजनेस मोडल ल्याएर कृषिलाई फाइदाजनक बनाउन सक्छन्।
नेपाल प्राकृतिक र साँस्कृतिक दृष्टिले धनी देश हो। होमस्टे, स्थानीय हस्तकला र इको-टुरिजममा युवाहरूले लगानी गरेर राम्रो आम्दानी गर्न सक्छन्। त्यस्तै जल, वायु र घाम नेपालका प्राकृतिक स्रोत हुन्। सौर्य प्यानल, साना जलविद्युत र वायोग्यासजस्ता क्षेत्रमा लगानी गर्दा वातावरणमैत्री र दिगो विकासमा सहयोग पुग्छ। तर यो सबै क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्नु अनिवार्य छ।
नेपालमा यस्ता प्रशस्त अवसर हुँदाहुँदै पनि युवाले लगानी गर्दा धेरै प्रशासनिक समस्या भोग्नुपर्ने अवस्था यथावत छ। नयाँ काम गर्न खोज्दा अवसरसँगै प्रशासनिक र कानूनी झन्झटहरू पनि उत्तिकै छन्। कम्पनी दर्ता र कर प्रणाली अझै पेचिलो छ। विचौलियाको सहयोगबिना काम गर्न मुस्किल नै हुन्छ। अझै पनि हाम्रा सरकारी कार्यालयहरू पेपरलेस बन्न सकेका छैनन्। कुनै पनि काम गर्दा अनेकौँ कागजी प्रक्रिया गर्नुपर्ने अवस्था छ।
सबै कुरा अनलाइन भएको भनिए पनि कम्पनी दर्ता, कर तिर्न, वा अनुमति लिने काम अझै पनि कागजी र अफिस धाउने प्रणालीमै सीमित छन्। कहिले सिस्टम डाउन हुन्छ, कहिले कर्मचारी नभेटिने समस्या हुने गर्छ। सरकारी काम गर्न एजेन्ट वा सहयोगी खोज्नैपर्ने अवस्था छ। कतिपयले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पैसा नै माग्छन्। यसले युवा उद्यमीलाई निराश बनाउँछ।
एउटा सामान्य पेटेन्ट दर्ता गर्न समेत तीन-चार वर्षसम्म कुर्नुपर्ने अवस्था छ। जसले गर्दा इन्भेन्सन विदेशमा लैजान गाह्रो हुन्छ। विदेशका संस्थाहरूसँग काम गर्न यो इन्भेन्सन हो भनेर पेटेन्ट दर्ताको एउटा प्रमाणपत्र मात्र चाहिने अवस्थामा पनि त्यो लिन निकै कठिन छ।
नेपालमा त जेनतेन यताउता गरेर काम गर्न सकिन्छ तर आफ्नो इन्भेन्सन विदेशमा लग्नुपर्यो भने पेटेन्ट दर्तामै समस्या छ। हाम्रो पनि उद्देश्य छ नेपाली उत्पादनलाई विदेशसम्म पुर्याऔँ भन्ने। भारत, बंगलादेश, श्रीलंका र अफ्रिकासम्म पनि हाम्रो इन्भेन्सन पुर्याउन सकिन्छ। बाहिरबाट माग पनि आएको छ तर यस्ता कामहरूमा हाम्रो सरकारले सहजीकरण गर्न सकेको छैन।
हामीले हाम्रो एडुब्यागको पेटेन्ट दर्ता गर्न चार वर्ष कुर्नुपर्यो। यसबीचमा ६ पटक सरकार नै परिवर्तन भया। जसले प्रक्रिया ढिलो बनायो। युवा जगतलाई उद्यममा प्रोत्साहन गर्नका लागि कम्पनी र कर दर्ता प्रणालीलाई पूर्ण रुपमा डिजिटल र छरितो बनाउनु पर्छ। पेटेन्ट दर्ता प्रक्रिया छोट्याउनुपर्छ। डिजिटल प्रशासन र ई-गभर्नेन्स लागु गर्नुपर्छ। सबै दर्ता, कर र स्वीकृति प्रक्रिया अनलाइन र पारदर्शी हुनुपर्छ।
हामीजस्ता युवाले देशमै केही नयाँ गर्न सकिन्छ भन्ने प्रयास थालेका छौँ। अब सरकार र प्रणालीले पनि हामीलाई साथ दिनुपर्छ। अहिले संसार डिजिटल हुँदै गएको छ। नेपालमा पनि युवाहरूले पुरानो व्यवसायमा पारदर्शिता र सजिलोपन ल्याउन प्रविधिजन्य काममा जोड दिनुपर्छ। शिक्षा प्रणालीमा उद्यमशील सोच भित्र्याउनुपर्छ। विद्यालयदेखि नै विद्यार्थीलाई आफै केही बनाउन प्रेरित गर्नुपर्छ। शिक्षा प्रणालीमा क्रिटिकल थिंकिङ र इन्भेन्सनलाई प्रोत्साहन दिनुपर्छ।
पछिल्लो केही वर्ष यतादेखि स्टार्टप-स्टार्टप भनेर धेरै कुरा भइरहेका छन्। शार्क ट्यांकसमेत आएपछि स्टार्टपको कल्चर झन बढेको देखिन्छ। यो निकै राम्रो कुरा हो तर सरकारी निकायहरूले अझै पनि स्टार्टप भनेको के हो भन्ने कुरा नै स्पष्ट रुपमा बुझ्दैनन्। स्टार्टप पहिचान र सहयोग नीति स्पष्ट हुनुपर्छ। सरकारका सहुलियत कार्यक्रमहरू सबैको पहुँचमा पुग्ने बनाउनुपर्छ।
सरकारले स्टार्टप व्यवसायलाई ५ वर्षसम्म आयकर छुट दिएको पनि छ तर यो नीति व्यवहारमा लागू भएको खासै देखिँदैन। स्टार्टपहरूले सुरुका वर्षहरूमा अझै परिक्षण र सुधारको चरणमा हुने भएकाले उनीहरूको आम्दानी धेरै हुँदैन। धेरैजसो कमाइ पनि व्यवसायमै पुनः लगानी गरिन्छ। यस्तो अवस्थामा सरकारले दिने कर छुट वा अन्य सहुलियतले ठूलो फाइदा पुर्याउँदैन। किनभने त्यस्तो सहुलियत पहुँचमै पुग्दैन। नीति बनेको छ तर कार्यान्वयनमा लाग्ने अधिकारीहरूले स्टार्टपको पहिचान नै गर्न सक्दैनन्।
सरकारले नयाँ व्यवसायलाई प्रोत्साहन गर्ने घोषणा गर्छ तर प्रणालीले नै ती व्यवसायलाई स्टार्टप भनेर चिन्न नसक्दा आवश्यक सहयोग पाउन कठिन छ।
नेपालमा सरकार छिटो-छिटो बदलिन्छ। हरेक सरकारसँगै नयाँ नीति आउँछ। यसले लगानीकर्ताको योजना र काम अघि बढाउन कठिन बनाउँछ। राजनीतिक स्थिरता र स्थायी नीति आवश्यक छ। नियमहरू बारम्बार बदलिँदा कामले निरन्तरता पाउँदैनन्। एउटै प्रक्रिया पटक पटक गर्नुपर्दा त्यसले निराशा पैदा गराउँछ। केही गर्छु भनेर लागेकाहरू पनि हतोत्साही हुने सम्भावना रहन्छ।
नेपालमा युवाका लागि अवसर प्रशस्तै छन्। विशेषगरी शिक्षा, प्रविधि, कृषि र आपत् व्यवस्थापनका क्षेत्रमा डिजिटलाइजेसनको अभाव छ। यस क्षेत्रलाई डिजिलाइट गर्दै यहाँभित्रै प्रशस्त अवसरहरू खोज्न सकिन्छ। अहिले सबैभन्दा ठूलो अवसर प्रविधि क्षेत्रमा छ। हामी भारत र चीनजस्ता ठूला देशको छेउमा भएकाले प्रविधिको प्रयोग गरेर हाम्रा उत्पादनहरू सजिलै त्यहाँको बजारमा पुर्याउन सक्छौँ।
प्रविधि निर्यात गर्नका लागि धेरै खर्च लाग्दैन। न त लजिस्टिक न त डेलिभरीमा नै खर्च हुन्छ। त्यसैले यो क्षेत्र नेपालका युवाका लागि ठूलो सम्भावना भएको क्षेत्र हो। अहिले पनि धेरै नेपाली उद्यमीहरूले नेपालमै बसेर विदेशका विभिन्न कम्पनीका लागि प्रविधिसम्बन्धी काम गर्दै राम्रो आम्दानी गरिरहेका छन्।
नेपालका धेरै क्षेत्रहरू अझै असंगठित छन्। ती क्षेत्रमा प्रविधि जोड्न सके त्यो नै ठूलो अवसर हो। कृषि, खाद्यान्न, शिक्षा र प्राकृतिक प्रकोप व्यवस्थापनजस्ता क्षेत्रमा अझै प्रविधिको प्रयोग पर्याप्त छैन। यदि यी क्षेत्रमा प्रविधि प्रयोग गरेर काम गर्न सक्यौँ भने नेपालका लागि सबैभन्दा ठूलो अवसर बन्न सक्छ।
अर्को समस्या भनेको स्टार्टपका लागि आवश्यक जनशक्तिको स्थिर नहुनु हो। काम गर्ने मान्छे भेटिन्छन् तर उनीहरू लामो समय अडिँदैनन्। प्रायः एक वर्षमै पढ्न भनेर विदेश जान्छन्। ती फर्केर आउने हो वा होइन त्यो निश्चित हुँदैन। सीप भएका धेरै युवा विदेश पढ्न वा काम गर्न जान्छन्। यसले यहाँको कामदार अभाव अझ बढाएको छ। विदेशमा गएर पढ्नु राम्रो कुरा हो, तर उतै बसिरहनु देशका लागि घाटा हुन सक्छ।
विदेशमा साना-साना कामहरू पनि सबै अनलाइनमा हुन्छन्। स्कूलदेखि कलेजसम्मका सबै प्रक्रिया डिजिटल छन्। तर नेपालमा अझै धेरै काम कागजमा गर्नुपर्ने बाध्यता छ। विदेशमा हुँदा मैले कहिल्यै कम्पनीको स्ट्याम्प चाहियो भन्ने कुरा सुनेको थिइनँ। सानो कुरा भए पनि यो ठूलो अन्तर हो।
अझ एक पटक मैले तराईतिरको एउटा पालिकामा काम गर्न प्रस्ताव राखेको थिएँ। हामीले हाम्रो उत्पादन परीक्षण गर्न अनुरोध गर्यौँ। तर त्यो सरकारी निकायका अधिकारीले अप्रत्यक्ष रुपमा हामीसँग पैसा नै मागे। हामीले यस्तो काम गर्दैर्नौ भनेपछि उनले उल्टै हामीलई तपाईंहरू युवाले सिस्टम नै बुझ्नुभएको रहेनछ भने। हामी कुन सिस्टममा काम गर्दैछौँ त्यही बेला मैले बुझेँ।
नेपालमा लगानी जुटाउन निकै कठिन छ। कहाँ गएर, कुन निकाय वा बैंकबाट लगानी पाउने हो त्यो प्रष्ट छैन। सरकारले बजेटमा महिला उद्यमी, युवा र स्टार्टपलाई सहयोग गर्ने घोषणा गर्छ तर त्यो सहयोग कहाँ र कसरी पाउने भन्ने जानकारी धेरैलाई हुँदैन। नीति बनाइन्छ तर त्यसको पहुँच सामान्य उद्यमीले पाउँदैनन्। एकजनालाई थाहा छैन भने त्यो उसको समस्या होला तर जब प्रायः सबैलाई थाहा छैन भने त्यो सिस्टमकै कमजोरी हो। यस्ता सुविधा र अवसर सबैको पहुँचमा हुनुपर्छ।
सरकारले सहज र स्पष्ट प्रणाली बनाउनुपर्छ। नीतिमात्र घोषणा गरेर होइन त्यसको कार्यान्वयनमा जोड दिनुपर्छ। कागजी झन्झट घटाएर, डिजिटल प्रणाली अपनाउँदै स्पष्ट नीति बनाएर मात्रै स्टार्टपहरूलाई प्रोत्साहन दिन सकिन्छ। अस्पष्ट र कार्यान्वयन नहुने नीतिले स्टार्टपलाई हतोत्साहित मात्र गर्छ।
नेपालमा केही कुरा भने अत्यन्त राम्रा पनि छन्। यहाँ सानो सम्बन्ध बनाएर स्थानीय स्तरमा काम गर्न सजिलो हुन्छ। मानिसहरू सहयोगी छन् र नयाँ कुरा गर्न उत्साहित पनि छन्। विदेशमा सबै कुरा नियममा बाँधिएको हुन्छ, यहाँ भने सानो सानो सम्बन्धले पनि ठूलो काम गर्न सकिन्छ। सानो सानो भेन्डरसँग काम गर्न नेपालमा राम्रो वातावरण र सहजता छ।
विदेशमा पनि काम गरेको थोरै अनुभव छ मेरो। त्यहाँ एउटा कुनै काम गर्न दशौँ पटक मिटिङ गर्नुपर्ने हुन्छ। धेरै पेपरवर्क हुन्छ। कहिलेकाहिँ सजिलो भएपनि धेरैजसो गाह्रो नै हुन्छ। तर नेपालमा अलिकति रिलेशन बनाउन सकियो भने काम गर्न सकिन्छ। त्यो यहाँ राम्रो छ। यहाँ विश्वासले पनि धेरै काम हुन्छ तर हामी इमान्दार हुन जरुरी छ।
नेपालका युवाहरूमा क्षमता, हिम्मत र सिर्जनशीलता छ। उनीहरूले प्रविधि र नयाँ सोच प्रयोग गरेर देशको अर्थतन्त्रमा ठूलो योगदान दिन सक्छन् तर त्यसका लागि राज्यले सहज र पारदर्शी वातावरण बनाउनुपर्छ। जब सरकार स्थिर, नीति स्पष्ट र प्रशासन सरल हुन्छ तब युवाहरूले देशमै लगानी गर्न सहज महसुस गर्छन्। युवाको लगानीले रोजगारी सिर्जना गर्छ, आत्मनिर्भर अर्थतन्त्र बनाउँछ र वैदेशिक पलायन घटाउँछ।
(युवा व्यवसायी मुरारकाको यो लेख 'नेपाल आर्थिक पत्रकार समाज'को 'सेजन स्मारिका २०८२' बाट साभार गरिएको हो।)
आर्थिकन्यूज