शीर्षकहरू

निरन्तर घट्दै निक्षेपको ब्याजदर, पुसका लागि औसत ४.७३ प्रतिशत कायम

निरन्तर घट्दै निक्षेपको ब्याजदर, पुसका लागि औसत ४.७३ प्रतिशत कायम

काठमाडौं ।  विगत लामो समयदेखि बैंकहरुको ब्याजदर निरन्तर घट्दो क्रममा रहेको छ । यही क्रममा वाणिज्य बैंकहरुले पुस महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् ।जसले निक्षेपकर्तालाई प्राप्त हुने प्रतिफल थप कम हुने संकेत देखिएको छ ।

पछिल्लो समय कर्जा प्रवाह अपेक्षित रुपमा बढ्न नसक्दा बैंकिङ प्रणालीमा निक्षेप भने बढ्दो क्रममा देखिएको छ । कर्जाको माग कमजोर रहँदा निक्षेप थपिँदै जाँदा बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था सिर्जना भएको छ। तरलता थुप्रिँदै जाँदा बैंकहरूको ब्याजदर घट्ने क्रम अझै रोकिएको छैन। 

मंसिर महिनाको तुलनामा पुस महिनामा १३ वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। पुस महिनाको लागि वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको औसत व्याजदर ०.३१ प्रतिशत विन्दुले घटेर ४.७३ प्रतिशतमा आएको छ । मंसिरमा वाणिज्य बैंकहरुको औसत ब्याजदर ५.०४ प्रतिशत रहेको थियो । 

सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १३ वाणिज्य बैंकहरुले पुस महिनाका लागि ब्याजदर घटाएसँगै औसत ब्याजदर ५ प्रतिशत विन्दुभन्दा तल झरेको छ । तीमध्ये प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान रूपमा ०.५ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन्। त्यस्तै, प्रभु बैंक र कृषि विकास बैंकले ०.४ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन् भने कुमारी बैंकले ०.३८ प्रतिशतविन्दुले ब्याजदर घटाएको छ।

यद्यपि, ७ वाणिज्य बैंकले भने मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक र हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।

पुस महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले सबैभन्दा बढी ब्याज दिने भएका छन्। यी दुवै बैंकले अधिकतम ५.५ प्रतिशतसम्म ब्याजदर तोकेका छन्। सबैभन्दा कम ब्याज भने प्राइम कमर्सियल बैंकले दिने भएको छ, जसले पुस महिनाका लागि अधिकतम ४.२५ प्रतिशत ब्याजदर कायम गरेको छ।

व्यक्तिगत मुद्दती निक्षेपसँगै वाणिज्य बैंकहरूको संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटेको छ । मंसिर महिनाको तुलनामा पुस महिनामा संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.२२ प्रतिशतविन्दुले घटेको छ। पुस महिनाका लागि ५ वाणिज्य बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने बाँकी १५ बैंकले मंसिर महिनाकै दरलाई निरन्तरता दिएका छन्।

null