भक्तपुर । भक्तपुर भन्नेबित्तिकै सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाले भरिएको सहरको छवि सबैको आँखा अगाडि आउँछ । मन्दिर, मठ, देवालय र तीर्थस्थलहरूले सजिएको भक्तपुरलाई नेपाली मौलिक कलाशैली, काठ तथा ढुंगामा कुँदिएका अनुपम कलाकृति र गहिरो धार्मिक आस्थाको केन्द्रका रूपमा लिइन्छ ।
यिनै सम्पदामध्ये सबैको ध्यान केन्द्रित गर्ने र भक्तपुरको पहिचानका रूपमा रहेको मन्दिर टौमडी टोलमा अवस्थित न्यातपोल मन्दिर हो । पाँचतले मन्दिरका रूपमा परिचित यो मन्दिर भक्तपुरकै सबैभन्दा अग्लो र भव्य मन्दिरमध्ये एक मानिन्छ । न्यातपोल मन्दिरको सांस्कृतिक नाम ‘ङातापोल्हँ’ रहेको छ ।
यो मन्दिर १८औँ शताब्दीमा मल्लकालीन राजा भूपतिन्द्र मल्लद्वारा निर्माण गराइएको हो । विक्रम संवत् १७०१ देखि १७०२ को अवधिमा जम्मा सात महिनाभित्र निर्माण सम्पन्न गरिएको मानिन्छ । निर्माण कार्यमा छालिङ, जितपुर, वागेश्वरी, सक्व, झौख्य, चाँगु, गोकर्ण, पन्ती लगायत विभिन्न स्थानका बासिन्दाहरूको सक्रिय सहयोग रहेको उल्लेख पाइन्छ ।
न्यातपोल मन्दिर पाँच तले संरचनामा निर्माण गरिएको सिद्धिलक्ष्मी भगवतीको मन्दिर हो । देवी सिद्धिलक्ष्मीलाई शक्तिशाली तान्त्रिक देवीका रूपमा मानिन्छ । मन्दिरभित्र एउटै विशाल ढुंगाबाट निर्मित, मानिसजत्तिकै अग्लो बेतालमाथि आसन गरेका भैरवको मूर्तिमाथि देवी सिद्धिलक्ष्मी भगवती स्थापना गरिएको छ । देवीको दायाँ–बायाँ मसान भैरव र महाकाल भैरवको मूर्ति पनि स्थापित छन् ।
तान्त्रिक स्वरूपकी देवी भएकाले यस मन्दिरमा तोकिएका पूजारी र सम्बन्धित व्यक्तिबाहेक सर्वसाधारणको प्रवेश निषेध गरिएको छ । मन्दिर अन्य मन्दिरझैँ सर्वसाधारणका लागि खुला रहने परम्परा छैन । यही कारण भैरवनाथको मन्दिर हाल तीनतल्ले मात्रै रहेको छ भने सिद्धिलक्ष्मी भगवतीको न्यातपोल मन्दिर पाँचतल्ले स्वरूपमै रहेको छ ।
न्यातपोल मन्दिरको निर्माण, संरचना र धार्मिक महत्त्वसँग सम्बन्धित अनेक रोचक किंवदन्ती तथा कथनहरू आज पनि स्थानीय जनमानसमा प्रचलित रहेको पाइन्छ ।
आर्थिकन्यूज