शीर्षकहरू

दरबारमार्ग जग्गा लिज प्रकरणमा ५ अर्बभन्दा बढी राज्य क्षतिको आरोप, मुद्दा दर्ताको तयारी

दरबारमार्ग जग्गा लिज प्रकरणमा ५ अर्बभन्दा बढी राज्य क्षतिको आरोप, मुद्दा दर्ताको तयारी

काठमाडाैं । राज्यको अमूल्य सम्पत्ति लिजमा दिँदा भएको भनिएको अनियमितताले सात वर्षपछि पुनः कानुनी बाटो समातेको छ । नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा लिज प्रकरणमा राज्यलाई अर्बौं रुपैयाँ नोक्सानी पुर्‍याइएको निष्कर्षसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मुद्दा दर्ता गर्न सिफारिस गरेको छ ।

सीआईबीले करिब एक महिना लामो अनुसन्धानपछि तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की र थमसेर्कु डेभलपर्सका सञ्चालक सोनाम शेर्पामाथि ठगी तथा आपराधिक विश्वासघातको अभियोगमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययनको चरणमा रहेको जनाएको छ । कार्यालयले फाइलको गहन अध्ययनपछि छिट्टै निर्णयमा पुग्ने प्रयास भइरहेको बताएका छन् ।

२०७१ सालमा नेपाल ट्रस्टको सञ्चालक समितिले दरबारमार्गस्थित १ रोपनी १४ आना जग्गा लिजमा लगाउने निर्णय गरेको थियो । त्यसका लागि आह्वान गरिएको बोलपत्रमा ६ कम्पनी सहभागी भएका थिए । तर अनुसन्धान अनुसार थमसेर्कु डेभलपर्सले बोलपत्र प्रक्रियामै दुई फरक विवरण पेश गरी मूल्यांकन प्रक्रियालाई प्रभावित पारेको देखिएको छ ।

सीआईबीको निष्कर्ष अनुसार बोलपत्र मूल्यांकनको म्याद सकिएपछि समेत मिलेमतोमा निर्णय संशोधन गरी थमसेर्कुलाई फाइदा पुग्ने गरी लिज स्वीकृत गरिएको थियो । महालेखा परीक्षकको प्रतिवेदनले समेत त्यस निर्णयमा गम्भीर प्रश्न उठाएको थियो ।

प्रतिवेदन अनुसार, नेपाल ट्रस्टले ३० वर्षको अवधिमा करिब ६ अर्ब ९७ करोड रुपैयाँ आम्दानी गर्न सक्ने अवस्था हुँदाहुँदै निर्णयमा गरिएको बदमासीका कारण जम्मा १ अर्ब ४० करोड रुपैयाँ मात्र प्राप्त हुने अवस्था बनेको छ । यसरी ट्रस्टलाई करिब ५ अर्ब ५७ करोड रुपैयाँ नोक्सानी हुने निष्कर्ष निकालिएको छ, जुन वार्षिक औसतमा साढे १८ करोड रुपैयाँ बराबर पर्छ ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्याप्त प्रमाण हुँदाहुँदै फाइल तामेलीमा राखेको निर्णय गरेको थियो । तर अब सीआईबीको अनुसन्धानले पुनः मुद्दा अघि बढ्ने सम्भावना बढाएको छ ।