काठमाडौं। काठमाडौं महानगरपालिकाले नागरिकको अपेक्षा अनुसार विकासमा अग्रणी भूमिका खेलेकोमा राष्ट्रपति रामचन्द्र पौडेलले विश्वास व्यक्त गरे। महानगरपालिकाको ३१ औँ महानगर दिवसका अवसरमा टुँडिखेलमा आयोजना गरिएको मूल समारोहमा उनी स्थानीय सरकारको कामप्रति सन्तुष्ट देखिए।
उनले भने, “प्राकृतिक तथा मानव सिर्जित सम्पदाको संरक्षण, हरियाली प्रवर्धन, एकीकृत सहरी विकास, सुविधा वितरण र सेवा प्रवाहमा विद्युतीय प्रणालीको प्रयोग काठमाडौँ महानगरपालिकाले गरेका उदाहरणीय काम हुन्।”
उनले एकल सेवा केन्द्र सञ्चालन, विद्युतीय शासन लागू गर्नु र गुनासो सुनुवाई प्रणालीलाई प्राथमिकता दिनुले स्थानीय सरकार सशक्त भएको बताए। उनले नागरिकसँग प्रत्यक्ष जोडिएका अधिकार वडा तहसम्म पुगेको सन्देश महानगरपालिकाले प्रवाहीकरण गरेको उल्लेख गरे।
समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, अर्थमन्त्री रामेश्वर खनाल, भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ्, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासहित उच्च पदस्थ अधिकारीहरू उपस्थित थिए।
महानगर प्रमुख बालेन्द्र शाहले महानगरपालिकाले अहिलेसम्म गरेका उपलब्धिहरू प्रस्तुत गर्दै सार्वजनिक जग्गा फिर्ता, सडक स्तरोन्नति, हाइमास्ट बत्ती जडान, सार्वजनिक खरिद प्रक्रियाबाट बचत, सामुदायिक शिक्षा सुधार, बालबालिकाको उद्धार, विद्युतीय कार्यालय प्रणाली लागूजस्ता कार्य उल्लेख गरे।
उपप्रमुख सुनिता डंगोलले महानगर दिवसको अवसरमा काठमाडौंलाई विशेष दृष्टिसहितको स्थानीय सरकार स्थापना भएको दिनका रूपमा स्मरण गर्दै नागरिकका अपेक्षा पूरा गर्न प्रतिबद्धता व्यक्त गरिन।
समारोहमा सांस्कृतिक, खेलकुद, साहित्य, स्वास्थ्य र समाजसेवामा योगदान पुर्याएका १५ जनालाई जनही १ लाख रुपैयाँसहित सम्मान गरिएको थियो। यसैगरी ११ जना जनप्रतिनिधिलाई स्थानीय सेवा गौरव पुरस्कार २०८२ बाट सम्मानित गरिएको थियो।
कार्यक्रममा सहरी विकास, विपद व्यवस्थापन, सरसफाइ, सुरक्षा र उद्धारमा प्रयोग हुने साधनहरूको प्रदर्शनी गरिएको थियो। वडाहरूले परम्परागत बाजा, झाँकी र नृत्यसमेत प्रदर्शन गरेका थिए।
महानगर दिवस हरेक वर्ष मंसिर २९ गते मनाइन्छ। काठमाडौं नगरलाई ०५२ साल मंसिर २९ मा काठमाडौं महानगर घोषणा गरिएको थियो।
आर्थिकन्यूज