शीर्षकहरू

हुलाक सेवालाई आधुनिक, व्यवसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल

हुलाक सेवालाई आधुनिक, व्यवसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हुलाक सेवालाई आधुनिक, व्यवसायिक र प्रतिस्पर्धी बनाइनुपर्नेमा जोड दिएका छन । डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यलयको सोमबार अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री खरेलले हुलाकलाई व्यवसायिक कार्ययोजनाकासाथ अगाडि बढाइनुपर्नेमा जोड दिएका हुन् ।

सञ्चारमन्त्री खरेलले भने,“हामीले हुलाकलाई व्यवसायीक र प्रतिस्पर्धी बनाउनैपर्छ, हुलाकले कमाउन थाल्नुपर्छ, अबको दिनमा राम्रो कार्ययोजना बनाइयो भने पाँच वर्षभित्रमा हुलाकले राज्य र जनतालाई योगदान गर्ने बनाउन सकिन्छ ।” उनले स्मार्ट हुलाकको कामलाई तीब्रताका साथ अगाडि बनाउन पनि निर्देशन दिए ।

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले स्मार्ट हुलाकका लागि नीतिगत र संरचनागत सुधारको पहल भएको उल्लेख गरिन । उनले भनीन,“स्मार्ट हुलाकको मापदण्ड स्वीकृतिका लागि मन्त्रालयमा आइसकेको छ, यो छिट्टै स्वीकृत भएर कार्यान्वयनमा जान्छ । यो वर्ष ५० वटा हुलाक कार्यालयलाई स्मार्ट हुलाक बनाउने गरी बजेट पनि विनियोजन भइसकेको छ ।”

हुलाक सेवा विभागका महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले नेपालमा स्मार्ट हुलाकको अवधारणा प्रस्तुत गर्दै हुलाक प्रणालीलाई रुपान्तरण गर्न र राजश्व वृद्धि गर्ने उद्देश्यसहित स्मार्ट हुलाकको अवधारण अगाडि ल्याइएको बताए । उनले न्यूनतम स्रोतसाधनकाबीच निरन्तर सेवा सुधार र सेवाग्राहीमैत्री सेवालाई प्रभावकारी बनाइएको विश्वास व्यक्त गरे ।

गोश्वारा हुलाक कार्यालयका प्रमुख हुलाक अधिकृत ढाल बहादुर जि.सी. ले गोश्वारा हुलाक कार्यालयको प्रस्तुतीकरण गर्दै हुलाकको सेवा विस्तार विश्वव्यापबी बनाउने, नीतिगत सुधार र इकमर्शमा गएर हुलाकको योगदान बढाउनेगरी कार्ययोजनासहित अगाडि बढेको जानकारी दिए ।