शीर्षकहरू

डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ४ रुपैयाँ घट्यो, पेट्रोलमा २ रुपैयाँ बढ्यो

डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ४ रुपैयाँ घट्यो, पेट्रोलमा २ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ । भारतीय आयाल कर्पोरेशनबाट आज प्राप्त भएको पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार डिजेल, मट्टितेल र पेट्रोलको नयाँ मूल्य सार्वजनिक गरिएको हो ।

निगमले आज  राति १२ बजेपछि लागू हुनेगरि डिजेल र मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ भने पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढाएको हो ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य पहिलो वर्गमा १६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६२ रुपैयाँ र तेस्रो वर्गमा १६३ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य लिटरमा पहिलो वर्गमा १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४१ रुपैयाँ र तेस्रो वर्गमा १४२ रुपैयाँ पुगेको छ ।

निगमले हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९३ पैसा घटेर तथा पेट्रोलमा एक रुपैयाँ ९४ पैसा बढेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले जनाएको छ । 

निगमका अनुसार पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन् । दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्छन । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुने निगमले जनाएको छ ।