शीर्षकहरू

इरानी रियाल ऐतिहासिक तल्लो तहमा, अर्थतन्त्रका लागि गम्भीर चिन्ताको विषय

इरानी रियाल ऐतिहासिक तल्लो तहमा, अर्थतन्त्रका लागि गम्भीर चिन्ताको विषय

तेहरान । इरानको राष्ट्रिय मुद्रा रियाल सोमबार अमेरिकी डलरको तुलनामा थप अवमूल्यन हुँदै नयाँ ऐतिहासिक तल्लो तहमा झरेको छ । रियाल एक अमेरिकी डलरको बदलामा १३ लाखभन्दा बढीमा कारोबार हुँदा यसले प्रतिबन्धको दबाब र क्षेत्रीय तनावबीच मुद्राको गिरावट अझ गहिरिएको सङ्केत दिएको छ ।

दुई हप्ताभन्दा कम अवधिमै १२ लाखको सीमा तोडेको रियालको यो अवस्था अर्थतन्त्रका लागि गम्भीर चिन्ताको विषय बनेको छ । तेहरानका मुद्रा व्यापारीहरूका अनुसार सोमबार डलरको दर १३ लाख रियालभन्दा माथि उद्धृत गरिएको थियो । डिसेम्बर ३ पछि गिरावटको गति झनै तीव्र बनेको छ । सोही दिन रियालले यसअघिको ऐतिहासिक न्यूनतम स्तर छोएको थियो ।

यस किसिमको तीव्र अवमूल्यनले मुद्रास्फीतिको दबाब बढाउँदै खाद्यान्न र अन्य दैनिक उपभोग्य वस्तुहरूको मूल्य उकासिरहेको छ, जसले सर्वसाधारणको घरायसी बजेटमा थप भार थपेको छ । पछिल्ला दिनहरूमा लागू गरिएको पेट्रोलको मूल्य परिवर्तनले पनि यो दबाबलाई अझ तीव्र बनाउने सम्भावना देखिएको छ ।

इरानको आणविक कार्यक्रमलाई लिएर वासिङ्टन र तेहरानबीच वार्ता पुनः सुरु गर्ने प्रयासहरू अवरुद्ध देखिएका छन् । यसैबीच, इरान र इजरायलबीच भएको १२ दिने युद्धपछि नयाँ द्वन्द्वको जोखिम कायमै रहेकाले अनिश्चितता अझ बढेको छ । धेरै इरानी नागरिकले संयुक्त राज्य अमेरिका पनि संलग्न हुन सक्ने ठूलो स्तरको टकरावको आशङ्का गरिरहेका छन्, जसले बजारको चिन्ता र अस्थिरतालाई थप चर्काएको छ ।

विशेषगरी सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्तिहरूसँग भएको आणविक सम्झौताबाट अमेरिकालाई एकतर्फी रूपमा बाहिरियाउनुभएपछि इरानको अर्थतन्त्र वर्षौंदेखि अन्तर्राष्ट्रिय प्रतिबन्धको चपेटामा पर्दै आएको छ । सन् २०१५ मा भएको सो सम्झौता कार्यान्वयनमा रहँदा रियालको विनिमय दर अमेरिकी डलरको तुलनामा करिब ३२ हजारमा कारोबार हुने गर्थ्यो । उक्त सम्झौताले प्रतिबन्ध राहतको बदलामा इरानले युरेनियम संवर्धन र भण्डारणमा ठूलो कटौती गरेको थियो ।

जनवरीमा राष्ट्रपति ट्रम्प दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किएपछि उनको प्रशासनले इरानको वित्तीय क्षेत्र र ऊर्जा निर्यातलाई लक्षित गर्दै ‘अधिकतम दबाब’ अभियानलाई पुनर्जीवित गरेको छ । अमेरिकी पक्षले फेरि इरानी कच्चा तेलको कारोबारमा संलग्न कम्पनीहरूलाई लक्षित गरेको जनाएको छ । यसमा चीनमा छुट मूल्यमा तेल खरिद गर्ने खरीददारहरू पनि समेटिएका छन् भन्ने अमेरिकी वक्तव्यमा उल्लेख गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घले कूटनीतिज्ञहरूले ‘स्न्यापब्याक’ संयन्त्रका रूपमा व्याख्या गरेको प्रक्रियामार्फत इरानमाथि आणविकसम्बन्धी प्रतिबन्धहरू पुनः लागू गरेपछि सेप्टेम्बरको अन्त्यतिर थप दबाब आयो । ती उपायहरूले फेरि एकपटक विदेशस्थित इरानी सम्पत्तिहरू फ्रिज गर्‍यो, तेहरानलाई हतियार कारोबारबाट रोक्यो र इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रमसँग सम्बन्धित थप दण्डात्मक कदमहरू लगायो ।

अर्थशास्त्रीहरूले रियालको यसरी तीव्र गिरावट हुँदा मूल्यवृद्धिको दुष्चक्र सुरु हुन सक्ने र विशेषगरी मासु र चामलजस्ता इरानी आहारका मुख्य वस्तुहरू किन्न सक्ने क्षमता गम्भीर रूपमा घट्ने जोखिम रहने चेतावनी दिएका छन् । धेरै इरानी नागरिकका लागि पछिल्लो रेकर्ड तल्लो तहले कूटनीतिक प्रयास कमजोर हुँदै जाँदा र प्रतिबन्धहरू झनै कडा बन्दै जाँदा आर्थिक राहत अझ टाढिँदै गएको अनुभूति बलियो बनाएको छ । - एपी