शीर्षकहरू

तरलता व्यवस्थापनमा चुनौती कायमै, मंसिरमा सवा ३ खर्ब प्रशोचन गरेको केन्द्रिय बैंकले थप २० अर्ब खिच्दै

राष्ट्र बैंकमा थन्कियो ८ खर्ब ७० अर्ब

तरलता व्यवस्थापनमा चुनौती कायमै, मंसिरमा सवा ३ खर्ब प्रशोचन गरेको केन्द्रिय बैंकले थप २० अर्ब खिच्दै

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा लगानी बढ्न नसक्दा बैंकिङ्ग प्रणलीमा अत्यधिक लगानीयोग्य रकम थुप्रिएर बसेको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिदा तरलता व्यवस्थापनमा नै नेपाल राष्ट्र बैंकलाई चुनौती सिर्जना भएको छ ।

बैंकिङ्ग क्षेत्रको तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार रुपमा निक्षेप संकलन गर्दै आइरहेको छ । राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै बजाबाट पैसा खिचिरहेको छ । सोही क्रममा केन्द्रीय बैंकले मंसिर महिनामा मात्रै ३ खर्ब २६ अर्बको निक्षेप संकलन गरिसकेको छ । केन्द्रीय बैंकले ८ पटकमा  सो निक्षेप संकलन गरेको हो ।

राष्ट्र बैंकमा थन्कियो ८ खर्ब ७० अर्ब

अहिले नेपाल राष्ट्र बैंकमा बैंकहरुले राखेको रकम नै ८ खर्ब ७० अर्ब नाघेको छ । जसमध्ये निक्षेप संकलनको ५ खर्ब ४३ अर्ब ३५ करोड हो भने स्थायी निक्षेप सुविधा अन्तर्गत ३ खर्ब २७ अर्ब ५ करोड रहेको छ । 

८४ दिनका लागि २० अर्ब खिच्दै राष्ट्र बैंक

केन्द्रीय बैंकले पुस २ गते फेरि बैंकिङ्ग प्रणालीबाट २० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट आज फेरि पैसा तान्न लागेको हो।

यो निक्षेप संकलन उपकरणको आउँदो फागुन २७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकले पुष लागेपछि पहिलो पटक निक्षेप संकलन गर्न लागेको हो।

यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।