शीर्षकहरू

नेप्से सूचकांकमा सामान्य बढोत्तरी, कारोबार रकम ४ अर्ब नाघ्यो

१४३ कम्पनीको शेयर मूल्य बढ्यो, दुई स्टकमा सकारात्मक सर्किट

नेप्से सूचकांकमा सामान्य बढोत्तरी, कारोबार रकम ४ अर्ब नाघ्यो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकांक सामान्य अंकले बढेर बन्द भएको छ । कारोबारको अन्त्यमा नेप्से ५.७० अंकले बढ्दै २ हजार ६२५.७० बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२१ प्रतिशतको वृद्धि हो। पछिल्ला दुई कारोबार दिनदेखि बढीरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। दिनभरको कारोबारमा कुल ४ अर्ब ५ करोड ३७ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३ अर्ब २९ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको थियो। बुधबारको बजारमा ५८ हजारभन्दा बढी कारोबारमार्फत करिब ८६ लाख कित्ता शेयर कारोबार भएका छन्।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.७५ प्रतिशत बढेको छ। यस दिन होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको हो।

कारोबारमा आएका कम्पनीहरुमध्ये १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ कम्पनी घटेका छन्। ११ कम्पनीको मूल्य स्थिर रहेको छ । बजार सामान्य उतार–चढावबीच सीमित दायरामा कारोबार भएको देखिन्छ ।

आजको कारोबारमा केही कम्पनीहरु उच्च अंकले बढ्दै ‘टप गेनर’ सूचीमा परेका छन् भने केहीमा लगानीकर्ताको आकर्षण कारोबार रकमका आधारमा देखिएको छ। समग्रमा बजारमा ठूला उतारचढाव नदेखिए पनि सकारात्मक मनोविज्ञानसहित नेप्से हरियालीमा बन्द भएको छ ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। बाराही हाइड्रोपावर पब्लिकको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ७८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन मञ्जुश्री फाइनान्सको कारोबार रकम साढे १३ करोड रुपैयाँ नाघेको छ भने ङादी ग्रुप पावरको करिब साढे ११ करोड रुपैयाँको शेयर किनबेच भएको छ।

null