काठमाडौं। नेपाल ट्रस्टको दरबारमार्गस्थित बहुमूल्य जग्गा ३० वर्षका लागि लिजमा दिने निर्णयमा सम्झौता फेरबदल गरी राज्यलाई अर्बौँ रुपैयाँ क्षति पुर्याइएको अभियोगमा पूर्वसचिव अर्जुन कार्कीसहित चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगीसम्बन्धी मुद्दा दर्ता भएको छ ।
सरकारी वकिलको कार्यालयले नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङ प्रालिका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो । मुद्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनका आधारमा दर्ता भएको हो ।
सीआईबीले प्रतिवेदनमा संगठित अपराध र आपराधिक विश्वासघातको कसुरसमेत आकर्षित हुने उल्लेख गरेको भए पनि हाल ठगीसम्बन्धी कसुरमा मात्रै मुद्दा दायर गरिएको छ । अभियोजन पक्षले थामसेर्कुले सुरुमा पेश गरेको प्रस्तावभन्दा फरक सम्झौता गराएर नेपाल ट्रस्टलाई हानी पुर्याइएको दाबी गरेको छ ।
अदालतमा पेश गरिएको अभियोगपत्रअनुसार प्रतिवादीहरूबाट ४ अर्ब ८६ करोड २५ लाख ५० हजार रुपैयाँ बिगो असुल हुनुपर्ने माग दाबी गरिएको छ । त्यस्तै, कित्ता नम्बर ४६०५ को बाटो प्रयोजनका लागि प्रयोग गरिएको जग्गाबापत थप ५३ लाख २४ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।
यसैगरी, कित्ता नम्बर ४६०६ मा सुरुमा तीन तला मात्रै निर्माण गर्ने सम्झौता भए पनि पाँच तला निर्माण गरिएको भन्दै थप ३८ करोड ८४ लाख ५३ हजार ४३० रुपैयाँ असुल गर्न माग गरिएको छ ।
सीआईबीका अनुसार नेपाल ट्रस्टको सञ्चालक समिति बैठकले २०७१ साउन २८ गते दरबारमार्गको एक रोपनी १४ आना जग्गा लिजमा दिने निर्णय गरेको थियो । त्यसपछि २०७३ मा सार्वजनिक बोलपत्र आह्वान हुँदा थामसेर्कु ट्रेकिङले ६ अर्ब २६ करोड रुपैयाँको प्रस्ताव पेश गरेको थियो । तर, पछि सोही कम्पनीले रकम तिर्न नसक्ने भन्दै प्रस्ताव घटाएर १ अर्ब ४० करोड रुपैयाँमा सम्झौता गराइएको अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धान प्रतिवेदनमा थामसेर्कुले दोस्रो र तेस्रो नम्बरमा रहेका प्रतिस्पर्धी कम्पनीहरूको प्रस्ताव थाहा पाएपछि आफ्नो प्रस्ताव घटाएको उल्लेख छ । कानुन शाखाबाट जमानत जफत गर्नुपर्ने राय हुँदाहुँदै पनि त्यसलाई बेवास्ता गरी सम्झौता गरिएको तथ्यलाई सीआईबीले प्रमाणका रूपमा अदालतमा पेश गरेको छ ।
यस प्रकरणमा प्रहरीले पूर्वसहसचिव लेखबहादुर कार्की र पूर्वसचिव अर्जुन कार्कीलाई कात्तिक महिनामा पक्राउ गरी अनुसन्धान गरेको थियो । थामसेर्कु ट्रेकिङका अध्यक्ष शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भए पनि उनले उच्च अदालतबाट पक्राउविरुद्ध अन्तरिम आदेश लिएका थिए ।
अनुसन्धान पूरा भएपछि सीआईबीले चारै जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन सिफारिस गरेको थियो, सोही अनुसार अब मुद्दा अदालतको विचाराधीन भएको छ ।
आर्थिकन्यूज