शीर्षकहरू

सरकारले निजी क्षेत्रमा तोडफोड गर्नु हुँदैन भन्ने सन्देश दिनुपर्छ : अध्यक्ष ढकाल

सरकारले निजी क्षेत्रमा तोडफोड गर्नु हुँदैन भन्ने सन्देश दिनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले निजी क्षेत्रमा आगजनी र तोडफोड गर्नु हुँदैन भन्ने सन्देश दिनुपर्ने बताएका छन । गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा भएको गोरखापत्र डिस्कोर्सको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन ।

‘कस्तो मनोबल ? ’ शीर्षकको प्यानल छलफलमा धारणा राख्दै उनले भने, ‘यो सरकारले निजी क्षेत्रमा आगजनी र तोडफोड गर्नु हुँदैन भन्ने एउटा सन्देश दिनुपर्छ । निजी क्षेत्रले राज्यलाई कर बुझाएर र रोजगारी दिएर महत्त्वपूर्ण योगदान गरेको छ भन्ने बुझाउनुपर्छ ।’यस्तो सन्देश दिन सके निजी क्षेत्रमाथिको आक्रमण कम हुने उनको विश्वास छ ।

देशमा एउटा राजनीतिज्ञले राजनीति छोड्न सक्ने भए पनि व्यवसायीले व्यवसाय छोड्न नसक्ने भएकाले यसको सुरक्षामा सरकार सचेत बन्नुपर्नमा उनले जोड दिए । अध्यक्ष ढकालले भने, ‘राजनीतिज्ञले राजनीति छोड्न सक्छन् । तर व्यवसायीले त्यो भन्न सक्दैन । मैले व्यवसाय वा काम छोडेँ भने हजारौँ कर्मचारीको रोजगारी गुम्छ । लोनको भार उल्टो थपिन्छ । हामीसँग काम छोड्ने छुट छैन । त्यसैले निजी क्षेत्रको संरक्षणमा सरकार सचेत बन्नुपर्छ ।’

निजी क्षेत्रको कन्फिडेन्स लुज भएको अवस्थामा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालको पहल महत्त्वपूर्ण रहेको बताए। व्यवसायिको सुरक्षामा सरकारको प्रयास सहयोगी बनेको उनको भनाइ छ ।

उनले केही समय पहिला सरकार र जेनजी पक्षमा भएको सम्झौताले भने निजी क्षेत्रमा त्रास बढेको बताए । अध्यक्ष ढकालले भने, ‘त्यो सम्झौताले गलत व्यक्तिलाई कारबाही नहुने हो कि भन्ने एउटा त्रास बढेको छ । यो किसिमको सम्झौताले व्यवसायिले आफ्नो कम्पनीको सुरक्षाको प्रत्याभूति गर्न सक्दैनन् । निजी क्षेत्रबिना आर्थिक वृद्धि हुन सक्दैन।’

नेपालमा व्यवसायीको योगदानको भन्दा नकारात्मक प्रचार भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।