शीर्षकहरू

बीमा प्राधिकरणको कुल आम्दानी २ अर्ब २६ करोड, खर्च घट्यो

बीमा प्राधिकरणको कुल आम्दानी २ अर्ब २६ करोड, खर्च घट्यो

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आम्दानी वृद्धि हुँदा खर्च भने घटेको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा प्राधिकरणले २ अर्ब २६ करोड ८७ लाख रुपैयाँ कुल आम्दानी गरेको छ ।

अघिल्लो वर्ष २०८०/०८१ मा यस्तो आम्दानी २ अर्ब १९ करोड ९६ लाख रुपैयाँ थियो । सेवा शुल्क बापत संकलन हुने रकम वृद्धि भएपछि प्राधिकरणको आम्दानीमा वृद्धि भएको हो । 

अघिल्लो वर्ष १ अर्ब ६१ करोड १२ लाख रुपैयाँ सेवा शुल्क संकलन गरेको प्राधिकरणले गत वर्ष १ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गरेको छ । यस वर्ष दर्ता तथा नवीकरण बापत २ करोड ७ लाख रुपैयाँ संकलन भएको छ । यस्तै, ब्याजबाट ३५ करोड ५१ लाख रुपैयाँ र ९ करोड १६ लाख रुपैयाँ अन्य शीर्षकबाट संकलन गरेको छ । 

खर्च घट्यो

अघिल्लो वर्ष ३८ करोड ९३ लाख रुपैयाँ बराबरको खर्च गरेको प्राधिकरणले गत वर्ष ३८ करोड ३७ लाख रुपैयाँ खर्च गरेको छ । जसमध्ये २० करोड ७८ लाख रुपैयाँ कर्मचारीको तलब एवं भत्तामा खर्च भएको छ । अघिल्लो वर्ष यस शीर्षकमा १९ करोड ६० लाख रुपैयाँ खर्च भएको थियो । अर्थात् कर्मचारी खर्च भने वृद्धि भएको देखिन्छ । 

सञ्चालन खर्च भने केही घटेको देखिन्छ । अघिल्लो वर्ष १६ करोड ३२ लाख रुपैयाँ सञ्चालन खर्च थियो । गत वर्ष १४ करोड ६२ लाख रुपैयाँ खर्च भएको छ । 

गत आवमा खुद आम्दानी १ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ रहेको छ । ४७ करोड १२ लाख रुपैयाँ आयकर तिरेको छ । 

आयकर तिरेपछि १ अर्ब ४१ करोड ३७ लाख रुपैयाँ प्राधिकरणको खुद बचत भएको छ । अर्थात् गत आवमा प्राधिकरणको बचत १ अर्ब ४१ करोड ३७ लाख रुपैयाँ भएको छ । जुन अघिल्लो वर्ष १ अर्ब ३२ करोड ४६ लाख रुपैयाँ थियो ।