शीर्षकहरू

तरुलखेतीबाट २२ जनालाई रोजगारी, ७ लाख बचत

तरुलखेतीबाट २२ जनालाई रोजगारी, ७ लाख बचत

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुग्नुभएका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको अनुभव नभए पनि तीन वर्षअघि उनले सुरु गरेको तरुलखेतीबाट अहिले २२ जनाको जीविकोपार्जन सुनिश्चित बनेको हो ।

खेमराजले सुन्दरहरैँचा–७ को ७५ बिघा भन्ने ठाउँमा तीन बिघा जमिन भाडामा लिएर सुरु गरेका हुन् । “जिन्दगीमा खेतीको नाममा केही पनि जानकारी थिएन, तर तीन वर्षको प्रयासपछि तरुलखेतीबाट २२ जनालाई रोजगारी दिनुका साथै आत्मनिर्भर बनाउन सफल भएको छु”, उनले भने ।

सुकेको जमिनमा नयाँ आशा

सुन्दरहरैँचा–७ को ‘७५ बिघा’ भन्ने ठाउँ वर्षौँदेखि पानीको कमी र जगङ्ली जनावारको आतङ्कले ग्रस्त थियो । धान र मकै सुक्ने, बोरिङको पानीले मात्रै पुग्ने अवस्था थिएन । “पहिले केराखेती पनि हुन्थ्यो । तर हात्तीको आतङ्कले बोटहरूमा क्षति भइरहन्थ्यो”, खेमराजले भने । त्यस्तो अवस्थामा उनले वैकल्पिक खेतीकाम रूपमा तरुल छनोट गरेको उनको भनाइ छ ।

खेमराजले भने, “साथीभाइले सुरुमा गरेको देखेपछि मलाई पनि रहर लागेर आयो । तीन बिघा जमिन भाडामा लिएर तरुल लगाएँ, आज सात बिघामा विस्तार भएको छ ।” उनीसँगै उभिएका जग्गाधनी प्रकाश उप्रेतीले भने, “पानी नै नभएर सबै बाली सुक्थ्यो । पूर्वाञ्चल विश्वविद्यालय बनेपछि बाटोको छेउ परेपछि झन पानी आउने विकल्प नै रोकियो । तर तरुल भने सुकेको जमिनमा पनि उत्पादन हुँदो रहेछ ।” तरुलखेतीबाट प्रशस्त आम्दानी हुने देखिएपछि यहाँका किसानमा पुनः आशा पलाएको उनको भनाइ छ ।

उप्रेतीका अनुसार तरुलको एउटै बोटले तीन–पाँच किलोसम्म फल दिने, बजारमा माघेसङ्क्रान्तिसम्म माग बढ्ने भएकाले किसानको मुहारमा उत्साह देखिएको छ । सफलतासँगै जङ्गली जनावरको सास्ती भने कायम नै रहेको स्थानीय किसान बताउँछन् ।

“यस क्षेत्र कहिले बँदेल, कहिले मृग र कहिलेकाहीँ हात्ती आइरहन्छन्”, खेमराजले भने, “बँदेलले बोटै उखेलेर खाइदिन्छ । तरुल जोगियो भने सुन फल्दो रहेछ । तर जोगाउनै चुनौतीपूर्ण बनेको छ ।” उनले बिघाको रु ६० हजारका दरले सात बिघाको भाडा तिर्दै आएको बताए । सबै खर्च काट्दा वर्षको करिब रु सात लाख बचत हुने जनाउँदै उनले यहाँबाट २२ जनाले रोजगारी पाएका उल्लेख गरे । केराबालीमा रोगको समस्या बढेपछि विकल्पका रूपमा आफूले तरूलखेती रोजेको उनले जानकारी दिए ।

पहिले आफ्ना लागि मात्र रोपिने तरुल अहिले व्यावसायिक खेतीका रूपमा विस्तार हुँदै गएको छ । स्थानीय दोमट माटो, सुख्खा भू–परिवेश र अनुकूल हावापानीका कारण तरुलखेती यस क्षेत्रका लागि उपयुक्त मानिएको किसान खेमराजले बताए । धान, मकै र केरा जस्ता बालीमा हात्तीको उपद्रो बढ्दै गएपछि किसान वैकल्पिक नगदे बालीतर्फ आकर्षित भएका उनको भनाइ छ ।

“तरुलको बाक्लो झाँडीभित्र हात्ती पस्न नसक्ने भएकाले यो खेती सुरक्षित छ”, खेमराजले भने । बँदेलले भने केही नोक्सानी पुर्‍याउने गरेको किसानको गुनासो छ । उनका अनुसार बारीबाटै प्रतिकिलो ४५ का दरले तरुल बिक्री हुँदै आएको छ । व्यापारीहरू दैनिक गाउँगाउँमा जुटका बोरा बोकेर आउने भएकाले खनेर बोरा भर्ने मात्रै काम गर्नुपर्ने किसान खेमराजले बताए । “बिक्री नहोला कि भन्ने चिन्ता लिनुपर्ने अवस्था छैन”, उनले भने ।

गत मङ्सिर १५ देखि पुस २७ सम्म तरुल खन्न सकिने भएकाले विशेषतः माघे सङ्क्रान्तिका लागि बढी खपत हुन्छ । सोही कारणले किसानले पुस २७ भित्र सबै तरुल बजारमा पठाउने तयारी गरेका छन् । एउटा बोटबाट करिब १० किलोसम्म उत्पादन हुने खेमराजले जानकारी दिए ।

भविष्यको सम्भावना

सिँचाइ, बजार व्यवस्थापन र जङ्गली जनावर नियन्त्रणमा स्थानीय सरकारबाट सहयोग भएमा सुन्दरहरैँचा नगरपालिका तरुलखेतीका लागि मुलुककै नमूना बन्न सक्ने किसान खेमराजको बुझाइ छ । उनका अनुसार तरुल नगदेबाली मात्र नभएर सङ्घर्ष, सम्बन्ध र सम्भावनाको प्रतिक बनेको छ ।

यहाँका किसानको पसिनाले बाँझो जमिनलाई फेरि उत्पादनशील बनाइरहेको उनले बताए। यहाँ तरुलखेती गर्ने किसानले भोगेका सङ्घर्ष, सफलताको कथा किसान र स्थानीय समाजबीचको सहकार्य, आत्मनिर्भरता र रोजगारीको मार्ग बन्दै गएको किसानको भनाइ छ। -रासस