काठमाडौं । उच्च अदालत बुटवलले सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
अदालतले लामिछानेमाथि लागेको आरोपका सम्बन्धमा पुर्पक्षका लागि थुनामा राख्न आवश्यक नदेखिएको ठहर गर्दै धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर सोही मुद्दामा प्रतिवादी रहेका छबिलाल बन्जाडेको हकमा भने अदालतले रिहाइको आदेश नदिएको उच्च अदालतले जनाएकाे छ ।
बन्जाडेलाई हाल कायम थुनामै राखेर मुद्दाको सुनुवाइ अघि बढाउने आदेश भएको छ । अदालतको यो आदेशसँगै लामिछाने धरौटी बुझाएपछि रिहा हुने कानुनी प्रक्रिया अघि बढ्नेछ ।
सहकारी ठगी प्रकरणमा लामिछानेलाई यसअघि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशविरुद्ध दायर गरिएको पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले आंशिक रूपमा आदेश उल्ट्याउँदै लामिछानेलाई धरौटीमा रिहा गर्ने निर्णय गरेको हो ।
आर्थिकन्यूज