शीर्षकहरू

मधेसमा लगानी सम्भावना हुँदाहुँदै कर्जा प्रवाह न्यून, ‘विदेशी मुद्रा प्रशस्त छ, ढुक्क भएर लगानी गर्नुहोस्’ : गभर्नर पौडेल

मधेस प्रदेशमा वित्तीय साक्षरता अभावले कर्जा विस्तार कमजोर

मधेसमा लगानी सम्भावना हुँदाहुँदै कर्जा प्रवाह न्यून, ‘विदेशी मुद्रा प्रशस्त छ, ढुक्क भएर लगानी गर्नुहोस्’ : गभर्नर पौडेल

वीरगन्ज । मधेस प्रदेशमा लगानीको सम्भावना प्रशस्त भए पनि सबै प्रदेशमध्ये कर्जा प्रवाह न्यून रहेको भन्दै नेपाल राष्ट्र बैंकले चिन्ता व्यक्त गरेको छ । नेपाल राष्ट्र बैंक वीरगन्ज शाखाद्वारा आयोजित एक कार्यक्रममा यस्तो चिन्ता व्यक्त गरिएको हो ।

कार्यक्रममा मधेस प्रदेशमा कुल कर्जा लगानी २२ प्रतिशत मात्र रहेकाले वित्तीय साक्षरता र सचेतनाको आवश्यकता रहेको धारणा नेपाल राष्ट्र बैंकका पदाधिकारीहरूले व्यक्त गरे ।

अन्तरक्रिया कार्यक्रममा सहभागी उद्योगपति तथा व्यापारीहरूले मुलुकमा बढ्दो आन्दोलन र आगजनीका घटनाले आर्थिक लगानीको सुनिश्चितता नभएको गुनासो व्यक्त गरेका छन् । उनीहरूले उक्त गुनासो कार्यक्रमका प्रमुख अतिथि गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष राखेका हुन् ।

राजनीतिक अस्थिरता बढ्दै जानुका साथै मुलुकमा भ्रष्टाचार चरम सीमामा पुगेको अवस्थामा लगानीको सुनिश्चितता कसरी हुन सक्छ ? भन्दै स्थानीय उद्योगपतिहरूले प्रश्न उठाए ।

मधेस प्रदेशमा केन्द्रीय बैंकको भूमिकाबारे आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर पौडेलले मुलुकको आर्थिक अवस्था क्रमशः सुदृढ बन्दै गएको उल्लेख गर्दै उच्च मनोबलका साथ लगानी गर्न व्यापारीहरूलाई अनुरोध गरे ।

उनले चितवन-पथलैया राजमार्ग निर्माणको ठेक्का प्रक्रिया अघि बढ्न लागेको, निजगढ–काठमाडौँ फास्ट ट्र्याक छिट्टै निर्माण हुने र देशमा कनेक्टिभिटी विस्तार भइरहेको अवस्थामा हाउजिङ, पर्यटनलगायत सम्भावनायुक्त क्षेत्रहरूमा ढुक्क भएर लगानी गर्न उद्योगपतिहरूलाई आग्रह गरे ।

विदेशी मुद्रा सञ्चिति राष्ट्र बैंकसँग पर्याप्त रूपमा रहेको र मुलुकको आर्थिक अवस्था सुदृढ बन्दै गएकाले सबै क्षेत्रमा कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिइएको गभर्नर पौडेलले जानकारी दिए । उनले परियोजनाका आधारमा मात्र नभई सम्भावनायुक्त साना तथा मझौला व्यवसायहरूमा पनि सहज रूपमा कर्जा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मधेस प्रदेशको प्रतिव्यक्ति आय सबै प्रदेशमध्ये कम रहेको जानकारी गराइएको थियो । मधेसमा सम्भावना बढी भए पनि कर्जा प्रवाह २२ प्रतिशतमा सीमित रहेकाले निजी क्षेत्र र बैंकहरूबीचको समन्वय तथा संवादबाट यसलाई बढाउन सकिने धारणा व्यक्त गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेलले वर्तमान आर्थिक स्थिति र मौद्रिक नीतिको भूमिकाबारे जानकारी गराए । उनले केन्द्रीय बैंकले कर्जा प्रवाहसहित बैंकिङ कारोबारलाई सहज र पहुँचयोग्य बनाउन निरन्तर प्रयास गरिरहेको बताए ।

नेपाल राष्ट्र बैंक वीरगन्ज शाखाका निर्देशक सुशील पौडेलले मधेस प्रदेशको अवस्था र लगानीका सम्भावनाबारे जानकारी गराएका थिए ।