शीर्षकहरू

इष्टर्न हाइड्रोपावरले शतप्रतिशत हकप्रद बिक्री गर्ने

इष्टर्न हाइड्रोपावरले शतप्रतिशत हकप्रद बिक्री गर्ने

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले हाल कायम चुक्ता पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ। कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

हकप्रद शेयर निष्कासनसम्बन्धी प्रस्तावसहित अन्य विविध प्रस्ताव पारित गर्न कम्पनीले पुस २७ गते वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा बिहान ९ बजे सुरु हुनेछ।

सभाले हकप्रद शेयर निष्कासन प्रस्ताव स्वीकृत गर्दै सो कार्यान्वयनका लागि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्नेछ। साथै, संस्थापक समूहबाट पाँच जना, सर्वसाधारणबाट एक जना र स्वतन्त्र समूहबाट एक जना सञ्चालकको निर्वाचन पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पेश गरिनेछ।

सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ। यसअनुसार पुस १७ गते बिहीबारसम्म कायम शेयरधनीहरू मात्र सभामा सहभागी हुन पाउनेछन्।