काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीले पुस ३० गते आह्वान गरेको वार्षिक साधारण सभामा हकप्रद शेयर निष्काशनसम्बन्धी प्रस्ताव पेश गर्ने तयारी गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको छ । यसअनुसार हालका शेयरधनीले आफूले धारण गरेको प्रत्येक १ कित्ता शेयर बराबर १ कित्ता हकप्रद शेयर प्राप्त गर्नेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ४३ करोड ७५ लाख रुपैयाँ छ । जसको १:१ अनुपातमा सोही रकम बराबरको ३ करोड ४३ लाख ७५ हजार कित्ता हकप्रद शेयर जारी गर्नेछ ।
ग्रीन भेन्चर्सले कालीगण्डकी गर्ज हाइड्रोपावरको बहुमत शेयर खरिद गरिसकेको छ । कम्पनीले सो हाइड्रोपावर कम्पनीको ५१ प्रतिशत संस्थापक शेयर खरिद गर्न गत भदौ १० गते शेयर खरिद सम्झौता गरेको थियो । कालीगण्डकी गर्ज हाइड्रोपावरले म्याग्दी र मुस्ताङ जिल्लामा अवस्थित कालीगण्डकी नदीमा १८० मेगावाट क्षमताको अर्ध-जलाशययुक्त कालीगण्डकी गर्ज जलविद्युत् आयोजना विकास तथा निर्माण गरिरहेको छ ।
उक्त आयोजनामा आवश्यक लगानी जुटाउनकै उद्देश्यले ग्रीन भेन्चर्सले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव ल्याएको हो । आयोजनाको कुल अनुमानित लागत ३९ अर्ब ५० करोड २४ लाख रुपैयाँ रहेको छ।
संचालक समितिले प्रस्ताव गरे अनुसार कम्पनीका शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्नका लागि कम्पनीको अधिकृत तथा जारी पूँजीमा वृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने भएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १५ गतेसम्म कायम शेयरधनीहरूले मात्र साधारण सभामा सहभागी हुन पाउनेछन् । कम्पनीले यस वर्ष लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव भने गरेको छैन ।
आर्थिकन्यूज