शीर्षकहरू

५ प्रतिशत बोनस बाडेर शतप्रतिशत हकप्रद बेच्ने योजनामा विन्ध्यबासिनी हाइड्रोपावर

साधारण शेयरमा परिणत हुने गरी ऋणपत्र जारी गर्ने

५ प्रतिशत बोनस बाडेर शतप्रतिशत हकप्रद बेच्ने योजनामा विन्ध्यबासिनी हाइड्रोपावर

काठमाडौं ।विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । आगामी साधारण सभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीलाई वितरण गरिनेछ ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस ३० गते, बुधबार, अनमोल बेन्क्वेट, शंखमूल, काठमाडौंमा नवौँ वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान १० बजे सुरु हुनेछ ।

साधारण सभामा बोनस शेयर तथा नगद लाभांशका साथै हाल कायम चुक्ता पूँजीको १:१ अनुपातमा शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पेश गरिनेछ ।

यसैगरी, साधारण शेयरमा परिणत हुने गरी ऋणपत्र जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, नयाँ सञ्चालक समिति चयन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि सभामा लैजाने कम्पनीले जनाएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार पुस २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम शेयरधनीले मात्र साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।