शीर्षकहरू

आर्थिक प्रलोभनमा बिरामी लैजाने एम्बुलेन्स चालकलाई कारबाहीकाे चेतावनी

आर्थिक प्रलोभनमा बिरामी लैजाने एम्बुलेन्स चालकलाई कारबाहीकाे चेतावनी

काठमाडौं । आर्थिक लाभका लागि बिरामी तथा घाइतेलाई इच्छाविपरीत महँगा निजी अस्पतालमा लैजाने प्रवृत्ति बढ्दै गएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कडा चेतावनी दिएको छ । मन्त्रालयले एम्बुलेन्स सेवा निर्देशिका विपरीत हुने यस्ता गतिविधि तत्काल रोक्न एम्बुलेन्स चालक तथा सेवा प्रदायकलाई निर्देशन दिएको हो ।

बुधबार जारी सूचनामा मन्त्रालयले अघिल्ला अस्पतालले रेफर गरेको वा बिरामी तथा आफन्तले रोजेकै स्वास्थ्य संस्थामा अनिवार्य रूपमा लैजानुपर्ने स्पष्ट गरेको छ । बिरामीको आपत्कालीन अवस्थाको फाइदा उठाउँदै आर्थिक प्रलोभनमा परेर गन्तव्य परिवर्तन गर्नु गम्भीर अनियमितता भएको मन्त्रालयको ठहर छ ।

‘अप्ठ्यारो अवस्थामा परेका बिरामी वा घाइतेलाई सहयोग गर्नुको साटो उनीहरूबाट अवाञ्छित आर्थिक लाभ लिनु अत्यन्तै दुःखद कार्य हो,’ मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय एम्बुलेन्स चालकले निजी अस्पतालसँगको सेटिङमा बिरामी लैजाने गुनासो बढ्दै गएको छ ।

मन्त्रालयले यस्ता गतिविधि गरेको पाइएमा सम्बन्धित एम्बुलेन्स चालक तथा सेवाप्रदायकमाथि कानुनबमोजिम कारबाही गरिने स्पष्ट चेतावनी दिएको छ । साथै, बिरामीको अधिकार, सेवा पारदर्शिता र आपत्कालीन स्वास्थ्य सेवाको मर्यादा कायम गर्न सबै एम्बुलेन्स सेवाप्रदायकलाई निर्देशिकाको पूर्ण पालना गर्न आग्रह गरिएको छ ।

null