शीर्षकहरू

प्राधिकरणमा सेवाग्राहीको गुनासोको चाङ, क्लासिक टेक र एनसेलविरुद्ध सबैभन्दा बढी उजुरी

प्राधिकरणमा सेवाग्राहीको गुनासोको चाङ, क्लासिक टेक र एनसेलविरुद्ध सबैभन्दा बढी उजुरी

काठमाडाैं । नेपाल दुरसञ्चार प्राधिकरणमा दुरसञ्चार तथा इन्टरनेट सेवासम्बन्धी सेवाग्राहीको गुनासोको संख्या बढ्दै गएको छ । इन्टरनेट नचलेको, स्पीड घटबढ भएको, बिलिङमा समस्या, राउटर तथा उपकरणसम्बन्धी समस्या, धरौटी र महसुल फिर्ता, नेटवर्क अवरोध, डाटा प्याकेजलगायत विषयमा सेवाग्राहीले प्राधिकरणमा उजुरी दर्ता गराएका छन्।

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ मा कुल २९४ वटा गुनासो परेका छन् । तीमध्ये इन्टरनेट सेवा समस्यासम्बन्धी २१४ वटा र भ्वाइस (मोबाइल तथा ल्याण्डलाइन) सेवासम्बन्धी ८० वटा गुनासो रहेका छन् । इन्टरनेट सेवाको विस्तारसँगै सेवा गुणस्तरप्रति असन्तुष्टि बढ्दै गएको देखिन्छ ।

इन्टरनेट सेवा समस्यामा क्लासिक टेकविरुद्ध सबैभन्दा धेरै गुनासो परेको छ । गत वर्ष मात्रै क्लासिक टेकका ९६ वटा गुनासो परेका छन्, जुन कुल गुनासोको ३२.६५ प्रतिशत हो । दोस्रो स्थानमा एनसेल आजियाटा रहेको छ । एनसेलविरुद्ध ५६ वटा अर्थात् १९.०४ प्रतिशत गुनासो दर्ता भएका छन् ।

त्यसैगरी, नेपाल टेलिकम (नेपाल दुरसञ्चार कम्पनी) विरुद्ध ३२ वटा (१०.८८ प्रतिशत) गुनासो परेका छन् । भायानेट कम्युनिकेशन्सविरुद्ध २५ वटा (८.५० प्रतिशत), वर्ल्डलिंक कम्युनिकेशन्सविरुद्ध १७ वटा (५.७८ प्रतिशत) र सुबिसु केबल नेटविरुद्ध ११ वटा (३.७४ प्रतिशत) गुनासो दर्ता भएका छन् ।

अन्य सेवाप्रदायकमध्ये डिस मिडिया नेटवर्कविरुद्ध ३१ वटा (१०.५४ प्रतिशत), सीजी कम्युनिकेशनविरुद्ध ६ वटा (२.०४ प्रतिशत), शिखर नेटविरुद्ध १ वटा (०.३४ प्रतिशत), वाइफाइ नेपालविरुद्ध ११ वटा (३.७४ प्रतिशत), वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टमविरुद्ध २ वटा (०.६८ प्रतिशत), फाइबर वर्ल्ड कम्युनिकेशनविरुद्ध १ वटा (०.३४ प्रतिशत), टेकमाइन्ड्स नेटवर्कविरुद्ध ४ वटा (१.३६ प्रतिशत) र कस्मिक नेटविरुद्ध १ वटा (०.३४ प्रतिशत) गुनासो परेका छन् ।

इन्टरनेट सेवासम्बन्धी गुनासोमध्ये ‘इन्टरनेट नचलेको’ समस्या सबैभन्दा बढी देखिएको छ । यस्तो प्रकारका ६० वटा गुनासो परेका छन् । इन्टरनेट स्पीड घटबढसम्बन्धी ५३ वटा, मर्मत तथा प्राविधिक समस्यासम्बन्धी १३ वटा, बिलिङ र क्षतिपूर्तिसम्बन्धी ४ वटा, टोल–फ्री नम्बरसम्बन्धी ७ वटा, राउटरसम्बन्धी १५ वटा, धरौटी तथा महसुल फिर्तासम्बन्धी १७ वटा र अन्य शीर्षकमा ४५ वटा गुनासो दर्ता भएका छन् ।

भ्वाइस सेवासम्बन्धी गुनासोमा सिमकार्डसम्बन्धी समस्या सबैभन्दा बढी देखिएको छ । गत वर्ष सिमकार्डसम्बन्धी २४ वटा गुनासो परेका छन् । डाटा प्याकेजसम्बन्धी १९ वटा र नेटवर्कसम्बन्धी १५ वटा उजुरी दर्ता भएका छन् । त्यसैगरी, बिलिङ तथा ब्यालेन्ससम्बन्धी १० वटा, नम्बर परिवर्तन र ल्याण्डलाइनसम्बन्धी एक–एक वटा तथा अन्य शीर्षकमा १० वटा गुनासो परेका छन् ।

प्राधिकरणका अनुसार हाल मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता नेपालको कुल जनसंख्याको ९१ प्रतिशतमा पुगेका छन् । थ्रीजी प्रयोगकर्ता २.९६ प्रतिशतमा सीमित भएका छन् भने फोरजी प्रयोगकर्ता ८८ प्रतिशत पुगेका छन् । प्रविधिगत रूपान्तरणसँगै प्रयोगकर्ता तीव्र रूपमा फोरजी सेवातर्फ सरेका छन् ।

थ्रीजी प्रयोगकर्ताको संख्या पछिल्ला पाँच वर्षमा करिब ४० प्रतिशतले घटेको छ । आव २०७७/७८ मा ४२.७० प्रतिशत रहेको थ्रीजी प्रयोगकर्ता आव २०७८/७९ मा ३४.८९ प्रतिशत, आव २०७९/८० मा २६.४० प्रतिशत र आव २०८०/८१ मा घटेर २५.७८ प्रतिशतमा सीमित भएको छ । यसको विपरीत, फोरजी प्रयोगकर्ताको हिस्सा ३२.९० प्रतिशतबाट बढेर ८८ प्रतिशत पुगेको छ ।

प्राधिकरणले सेवाप्रदायक कम्पनीहरूलाई सेवा गुणस्तर सुधार, समयमै मर्मत, पारदर्शी बिलिङ प्रणाली लागू गर्न र उपभोक्ताका गुनासो तत्काल समाधान गर्न निर्देशन दिँदै आएको छ ।