शीर्षकहरू

सशस्त्र प्रहरी नियम–कानुनको धज्जी उडाउँदै, अपरिपक्व ‘अपरेशन’ आफैलाई बन्यो प्रत्युत्पादक

सशस्त्र प्रहरी नियम–कानुनको धज्जी उडाउँदै, अपरिपक्व ‘अपरेशन’ आफैलाई बन्यो प्रत्युत्पादक

वीरगन्ज । सिमा सुरक्षा र राजस्व चुहावट नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरीले वीरगन्जमा नियम–कानुनको धज्जी उडाउँदै गरेको एउटा अपरिपक्व ‘अपरेशन’ प्रत्युत्पादक बनेको छ । सशस्त्र प्रहरी बल  भन्सार सुरक्षा बेस क्याम्प वीरगन्जका डिएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा गएको टोलीले बिहीबार वीरगन्ज महानगरपालिका वडा नम्बर २५ सिर्सियामा बिनाकुनै पूर्वतयारी र कानुनी प्रक्रिया पुरा नगरी नागरिकको घरमा खानतलासी गर्दा नराम्रो पराजय भोग्नु परेको छ ।

बिहीबार बिहान १० बजे सिर्सियाको मौजे टोलस्थित भुलाही पटेल र रामाकान्त पटेलको घरमा डिएसपी भण्डारीको नेतृत्वमा सशस्त्र प्रहरी र भन्सारको टोलीले छापा मार्न पुगेको थियो  । कानुनी प्रक्रिया विपरित जबरजस्ती घरमा पस्न खोजेपछि स्थानीयवासी आक्रोशित भएका थिए ।

सो क्रममा स्थानीय र प्रहरीबीच झडप समेत भएको छ ।  अध्यक्ष आशुतोष चतुर्वेदीका अनुसार सशस्त्र प्रहरीले रितपूर्वक खानतलासी गर्नुपर्नेमा नियम मिच्न खोजेपछि स्थिति तनावपूर्ण बनेको थियो । उनले भने, “सशस्त्रले नियम–कानुनको धज्जी उडाउँदै खानतलासी गर्न खोज्यो,।”

झडपको दुई घण्टापछि मात्र डिएसपी भण्डारीले भन्सार विभागका कर्मचारीसहित आधिकारिक खानतलासी पत्र लिएर पुनः पटेलको घर पुगेका थिए । सुरक्षा निकायले निकै सुक्ष्म तरिकाले घरका कुना–कुना खानतलासी गरे पनि कुनै पनि अवैध वस्तु वा तस्करीका सामान फेला पार्न सकेन । अन्ततः “ठुलो सफलता” पाउने आशमा पुगेको सशस्त्र प्रहरी टोली रित्तो हात फर्कन बाध्य भएको छ ।