काठमाडौं । नेपालमा नूनकाे आयात तथा बिक्री वितरण, आपूर्ति गर्ने काम विगत देखिनै साल्ट ट्रेडिङ कर्पोरेसनले गर्दै आएको छ । सरकारले पनि साल्ट ट्रेडिङलाई नै नूनको आपूर्तिको सम्पूर्ण जिम्मा दिएको छ । अर्थात् साल्ट ट्रेडिङ बाहेक अन्य कम्पनीले नेपालमा नून आयात तथा आपूर्ति गर्न पाइँदैन ।
तर, उद्योग प्रयोजनका लागि उद्योग विभागको सिफारिसमा नून आयात गर्न पाइन्छ । सो नून भने उद्योगको कच्चा पदार्थको रुपमा प्रयोग गर्नु पर्दछ । अर्थात् उद्योगको प्रयोजनका लागि सिफारिस लिएर ल्याएको नून उद्योगबाट विभिन्न बस्तुहरु उत्पादन गर्दा प्रयोग गरिन्छ, ताकि सो नून सिधै नूनकै रुपमा बिक्री गर्न पाइँदैन ।
तर, यस प्रकारको व्यवस्था रहे पनि नेपालमा एक औद्योगिक घरनाले नून नै बिक्री गरिरहेको पाइएको छ । दुगर ग्रुपले हिमालयन पिंक रक साल्ट नामको नून हाल खुल्लम खुला आपूर्ति गरिरहेको छ । हिमालयन पिंक रक साल्ट भनेको हिमाली चट्टानबाट प्रशोधन गरेर निकालिएको नून हो । जुन नेपालमा यस प्रकारको नून उत्पादन तथा प्रशोधन हुँदैन । नेपालको छिमेकी मुलुक पाकिस्तानमा यस प्रकारको नून उत्पादन तथा प्रशोधन हुने गर्दछ ।
दुगर ग्रुप अन्तर्गतको दुगर स्पाइसेज एण्ड फुड प्रोडक्सन प्रालिले यो नून प्याकेजीङ तथा बिक्री वितरण गरिरहेको छ । यो कम्पनी सेन्चुरी मसला उत्पादन तथा बिक्री वितरण गर्दै आएको कम्पनी हो । जसकाे मालिक माेतिलाल दुगर हुन् । उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार पनि थिए । साथै उनी पूर्व उद्योग राज्यमन्त्री समेत हुन् ।
यही नून अहिले सुपरमार्केटहरुमा छ्याप-छ्यात्ती बिक्रीका लागि राखिएको छ । यसबारे वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षक विभागमा उजुरी पनि परेको छ । प्रचलित नियम अनुसार नेपाल राज्यभर नेपाल सरकारले नून उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरणको लागि साल्ट ट्रेडिङलाई मात्रै अधिकार दिएको अवस्थामा सो कम्पनीले गैरकानूनी रुपमा नून बिक्री गरिरहेको र त्यसको छानबिन गर्न अनुरोध गर्दै विभागमा पौष ३ गते उजुरी परेको थियो ।
यतिमात्रै होइन, साल्ट ट्रेडिङले बिक्री गर्ने आयोनून प्रतिकेजी २६ रुपैयाँमा उपभोक्ताले खरिद गर्न पाइरहेको अवस्थामा उक्त हिमालयन साल्ट नामक नून ३५० ग्रामलाई ६५ रुपैयाँ तोकिएको र यसले उपभोक्तालाई प्रत्यक्ष मारमा पारेको पनि उजुरीमा दाबी गरिएको छ ।
'दुगर स्पाइसेज एण्ड फुड इण्डष्ट्रिज प्रालि गैर कानूनी तरिकाले उत्पादन, प्रशोधन गरी बिक्रि बितरणमा ल्याइएको सेन्चुरी ब्राण्डको नून प्रति प्याकेट ६३ रुपैयामा बिक्रि गरेको भनि बिल सहित गुनासो गरेको हुंदा उक्त बिषयमा सत्यतथ्य छानविन गरी आवश्यक कारवाही गरी पाउन अनुरोध गरेको हुंदा यस सम्बन्धमा आवश्यक कारवाही गरी पाउन हार्दिक अनुरोध गर्दछौं । प्रचलित नियम कानून अनुसार नेपाल राज्यभर नेपाल सरकारले व्यवसायिक रुपमा नून उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्रि बितरणको लागी साल्ट ट्रेडिङ कर्पोरेशन लि. लाइ मात्र अधिकार प्रत्यायोजित गरेको हुंदा अन्य कुनै पनि उद्योग व्यवसाय वा व्यापारीले व्यवसायिक रुपमा नूनको कारोवारमा प्रतिबन्धित गरेकोछ ।,’ विभागमा दर्ता भएको उजुरीमा उल्लेख गरिएको छ ।
यसबारेमा विभागले छानविन गर्ने विभागका एक उच्च अधिकारीले आर्थिक न्यूजलाई जानकारी दिएका छन् । उनले भने, 'नूनको आयात, प्याकेजीङ, बिक्री वितरण गर्ने जिम्मा साल्ट ट्रेडिङको हो, अन्य जो-कोहिले पनि नून आयात, उत्पादन, प्याकेजीङ र बिक्री वितरण गर्छ भने त्यो कारबाहीको दायरामा आउँछ ।’
उसो त साल्ट ट्रेडिङ बाहेक नूनको कारोबार गर्ने दुगर मात्रै पहिलो कम्पनी भने होइन, २०५६ सालमा पनि यसरी अन्य कम्पनीहरूले नून आयत गर्न प्रयास गरेका थिए । त्यस समयमा केही कम्पनीले आयात गरेर बिक्री पनि गरेका थिए । पछि सरकारले उक्त कम्पनीलाई रोक लगाइदिए पछि ति कम्पनीहरू सर्वाेच्च अदालत गएका थिए । सर्वाेच्चले पनि २०६१ सालमा सो ति कम्पनीहरूको मुद्दा खारेज गरिदिएको थियो । सर्वाेच्चले पनि नूनको सम्पूर्ण कामको जिम्मा साल्ट ट्रेडिङलाई नै मपर्पित गरिएकाले सोही अनुसार आदेश दिएको व्याख्या गरेको थियो । सो आदेशसँगै तत्कालीन नून आयत गर्ने कम्पनीहरूले उप्रान्त नूनको कारोबार गर्न बन्द गरेका थिए ।
लक्ष्मण लम्साल