भैरहवा । जनसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारण सभा शनिबार भैरहवामा एक औपचारिक कार्यक्रमका बीच सम्पन्न भएको छ। सहकारीका सेयर सदस्य, प्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाको उल्लेखनीय उपस्थितिमा साधारण सभा सम्पन्न गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि शोभाकान्त नेपालले सहकारी संस्थाको सफलताका लागि सेयर सदस्यको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए। उनले सहकारी संस्थालाई सक्षम, पारदर्शी र सफल बनाउन सेयर सदस्यहरूले सञ्चालक समितिमाथि नियमित खबरदारी, निगरानी र सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए। सेयर सदस्य सचेत र सक्रिय भए मात्र सहकारीको सुशासन कायम रहने उनको भनाइ थियो।
कार्यक्रममा संस्थाका अध्यक्ष जनकराज पन्तले पछिल्लो समय केही सहकारी संस्थाले गरेको ठगीका घटनाका कारण सहकारीप्रति आम नागरिकको विश्वासमा कमी आएको उल्लेख गरे। यद्यपि जनसेवक बचत तथा ऋण सहकारी भने सुशासन, पारदर्शिता र वित्तीय अनुशासनका माध्यमबाट सबल र सक्षम संस्थाका रूपमा स्थापित हुँदै आएको उनले बताए। बचतकर्ताको रकम सुरक्षित राख्न संस्था सफल भएको दाबी गर्दै उनले आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
साधारण सभामा अध्यक्ष जनकराज पन्तले अध्यक्षको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष गोविन्द घिमिरेले कोषको प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसैगरी लेखा सुपरिवेक्षक समिति संयोजक हरिबहादुर खड्काले लेखा सुपरिवेक्षक समितिको प्रतिवेदन पेश गरेका थिए। कार्यक्रममा उपाध्यक्ष सीता दाहालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सचिव पुनहरी बेलबासेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
आर्थिकन्यूज