शीर्षकहरू

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २२ देखि खुल्दै

पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २२ देखि खुल्दै

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले पुस २२ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणअन्तर्गत आयोजना प्रभावित स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३१ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ। स्वीकृत कुल शेयरमध्ये १५ लाख २० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।

आयोजना प्रभावितका लागि छुट्याइएको शेयरमध्ये ६ लाख २० हजार कित्ता लमजुङको मस्र्याङ्दी गाउँपालिका वडा नम्बर २ र ३ (साविक घनपोखरा र खुदी गाविसका विभिन्न वडाहरू) का स्थानीय बासिन्दाका लागि राखिएको छ। बाँकी ९ लाख ३० हजार कित्ता मस्र्याङ्दी गाउँपालिकाका अन्य वडाहरू तथा साविक घनपोखरा, ताघ्रिङ, घेर्मु, बाहुनडाँडा, भुलभुले र सिम्पानी गाविसका स्थानीय बासिन्दाका लागि निर्धारण गरिएको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित स्थानीयले पुस २२ गतेदेखि माघ ६ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस २२ गतेदेखि पुस २९ गतेसम्म आवेदन दिन पाउनेछन्। तोकिएको अवधिमा पर्याप्त आवेदन नपरेमा आवेदन अवधि थप हुन सक्ने कम्पनीले जनाएको छ।

आयोजना प्रभावित स्थानीयले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंकको बेसीशहर शाखा तथा हिमालयन बैंकको भुलभुले शाखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ।