शीर्षकहरू

सवा ६ अर्ब ऋणात्मक वितरणयोग्य नाफा रहेको एनआइसी एशियाले शेयरधनीबाट साढे ७ अर्ब उठाउने

सवा ६ अर्ब ऋणात्मक वितरणयोग्य नाफा रहेको एनआइसी एशियाले शेयरधनीबाट साढे ७ अर्ब उठाउने

काठमाडौं । एनआइसी एसिया बैंकले हकप्रद शेयर बिक्री गर्ने प्रस्ताव गरेको छ । बैंकको पुस २० गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने निर्णय गरेको हो । बैंकले नेपाल राष्ट्र बैंक समक्ष पूर्व स्वीकृतिका लागि प्रस्ताव पेश गरेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर बिक्री गर्नेछ ।

हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ रहेको छ । यस अनुसार बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँबराबरको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर बिक्री गर्नेछ ।

बैंकमा संस्थापकहरुको ५१ प्रतिशत तथा सर्वसाधरणको ४९ प्रतिशत शेयर हिस्सा रहेको छ । 

एनआईसी एशिया बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा सो अवधिसम्म ६ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर ३ रुपैयाँ २८ पैसा रहेकोे छ । असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ७४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९७.७३ गुणा रहेको छ।

बैंकको जगेडा कोषमा १४ अर्ब ७२ करोड रुपैयाँ सञ्चित छ । बैंकले असोज मसान्तसम्ममा ३ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।