काठमाडौं । पछिल्लो समय सुनको मूल्य लगातार वृद्धि भइरहेको छ । विशेषगरी पौष महिना लागेसँगै सुनको मूल्य वृद्धिले तीब्र बनेको छ । दशैं पछि उच्च वृद्धि भएको सुनको मूल्य तिहार पछि तोलाको २ लाख ५८ हजार रूपैयाँसम्म पुगेको थियो ।
त्यसपछि उक्त विन्दुबाट लगातार घटिररहेको सुनको मूल्य पौष लागेदेखि फेरि वृद्धि हुन थालेको हो । पौषको १३ गते सुनको मूल्यले नयाँ रेकर्ड राख्यो । उक्त दिन नेपाली बजारमा एक तोला सुनको मूल्य २ लाख ७० हजार ६०० रूपैयाँसम्म पुग्यो । त्यसपछि केही दिन करेक्सन भएर फेरी मूल्य वृद्धि हुन थालेको छ ।
आज पौष २२ गते सुनको मूल्य २ लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ । पछिल्लो ३ दिनमा मात्रै ७ हजार ७०० रूपैयाँले मूल्य बढेको हो । सुन मात्रै होइन चाँदीको मूल्य पनि सोही रफ्तारमा वृद्धि भइरहेको छ । दशैं अधिसम्म तोलाको २ हजार ४०० को हाराहारीमा रहेको प्रतितोला चाँदीको मूल्य ३ महिनामा नै त्यसको दोब्बर भएको छ । हाल चाँदीको मूल्य ४ हजार ८८० रुपैयाँ छ ।
यसरी सुनचाँदीको मूल्य वृद्धि हुनुको पछाडिका कारण के के हुन् ? कहिलेसम्म बढ्छ ? कति पुग्छ ? फेरि कहिले घट्छ र घटेर कतिसम्म झर्न सक्छ ? यो मूल्य वृद्धिको समयमा सुनचाँदीको व्यापारको अवस्था कस्तो छ ? लगायतका विषयमा आर्थिक न्यूजले नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियश रत्न शाक्यसँग कुराकानी गरेको छ प्रस्तुत छ कुराकानीको सम्पादित अंश :
सुनको मूल्य वृद्धिका कारणहरू
पहिलो कारण : ब्याजदरमा कटौती
सुनको मूल्य वृद्धि हुनुको धेरै कारणहरू रहेका छन् । त्यसमध्ये पनि अमेरिकाको केन्द्रीय बैंक यूएस फेडरल डिजर्भ 'फेड’ले गत डिसेम्बर १० तारिखका दिन बैंकको ब्याजदर घटाएको थियो । उक्त बैंकले २०२५ मा यो तेस्रो पटक ब्याजदर घटाएको हो ।
उक्त ब्याजदर घटेसँगै सुन डिमाण्ड वृद्धि हुँदा मूल्य पनि वृद्धि भएको हो । यसका साथै ब्याजदर अझै घट्ने आकंलन गर्दै लगानीकर्ताले सेभ हेभनका लागि सुनमा लगानी गर्न थालेका छन् ।
दोस्रो कारण : युद्ध
हाल विश्व नै युद्धको अवस्थामा रहेको छ । युक्रेन र रसीयाको युद्ध छँदै छ । यसका साथै, इरान र इजरायलबीच श्रृजना भएको तनावले पश्चिम एसिया (मध्यपूर्व) सशंकित बनेको छ । इरान र इजरेलको तनाब युद्धमा परिणत हुने अवस्थामा पुगेको छ । विश्लेषकहरुले अबको केही सातामा नै उक्त दुई देशबीच युद्ध सुरु हुने अनुमान गरेका छन् ।
इरानले परमाणु हतियार निर्माणको लागि ठूलो बजेट खर्किएको छ । यस विषयले अमेरिका सहित इजरायल पनि त्रसित छ । इरानले इजरायललाई राष्ट्रको रुपमा मान्यता दिएको छैन, परमाणु बनायो भने इजरायललाई इरानबाट खतरा हुने मात्रै होइन आफ्नो देशको अस्तित्व नै नरहने हो कि भन्ने डर इजरायललाई छ । यसले गर्दा पनि इजरायलले जसरी भएपनि इरानको परमाणु कार्यक्रम बन्द गराउने तर्फ लाग्दै छ । यसका लागि अमेरिकाले पनि इजरायललाई समर्थन गरेको छ ।
उता इरान भने कुनै हालतमा पछि नहट्ने निष्कर्षले गर्दा यी दुई राष्ट्रबीच जुनै बेला पनि ठूलो युद्ध चर्किने सम्भावना रहेको विश्लेषकहरु बताउँछन् ।
त्यसैगरी, अमेरिका र भेनेजुएलाबीच ठूलो तनाब श्रृजना भएको छ । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा नै लिएको छ । भेनेजुएलाको शासन अमेरिकासँग रहेको र आगामी चुनाव पनि त्यहाँ अमेरिकाले नै गराउने राष्ट्रपति ट्रमको भनाई छ । यसले गर्दा पनि मानिसहरुले अन्य क्षेत्रबाट लगानी झिकेर सुनमा लगानी गर्न थालेका छन् ।
तेस्रो कारण : ब्रिक्स राष्ट्रहरूले आफ्नै मुद्रा बनाउने चर्चा
ब्रिक्स राष्ट्रहरू ब्राजिल, रसिया, भारत, चाइना, दक्षिण अफ्रिका, साउदि अरव लगायतका देशहरूले युरोपियन युनियनको जसरी आफ्नै मुद्रा प्रचलनमा ल्याउने चर्चा चल्दै आएको छ । डलरको निर्भरता घटाउन उनीहरुले आफ्नै मुद्रा प्रचलनमा ल्याउने, त्यो सकिएन भने चाइनाको युआन, रसियाको रुबल, भारतीय रुपैयाँलाई मजबुत गरेर डलरको नजिक ल्याउने बारे चर्चा चलिरहेको छ ।
यस विषयले पनि डलरको मूल्य कमजोर भएको र सुनको मूल्य वृद्धि भएको हो । डलरको मूल्य बढ्दा शेयर बजारको पनि मूल्य बढ्छ । त्यस अवस्थामा इन्धनको मूल्य र सुनको मूल्य घट्छ ।
मूल्य कतिसम्म पुग्छ ?
अहिलेको सिनारियो फेरिएन भने सुनको भाउ अबको केही महिनामा नै तोलाको ३ लाख रुपैयाँ नाघ्छ । चाँदीको मूल्य ५ हजार ५०० देखि ६ हजारको हाराहारीमा पुग्छ ।
कहिलेसम्म बढ्छ ?
अवस्था नर्मल नभएसम्म बढिरहन्छ । युद्धहरू नरोकिएमा, डलरको मूल्य वृद्धि नभएसम्म, फेडले ब्याजदर वृद्धि नगरेसम्म सुनको मूल्य बढ्छ । कुन रफ्तारमा बढ्छ भनेर भन्न सकिँदैन तर बढिरहन्छ ।
अवस्था नर्मल भएर मूल्य घट्न थाल्यो भने कतिसम्म झर्छ ?
अवस्था ठिक-ठाक भएपछि सुनको भाउ अब २ लाख ५२ हजार रूपैयाँभन्दा कम हुँदैन । कम्पनीहरूले सुनको खानीनै खरिद गर्ने गर्दछन् । कम्पनीहरूले २ लाख ५२ हजार भन्दा कम दरमा किनेका छैनन् ।
उनीहरुले यसरी किनेको सुन आफूलाई घाटा खाएर बेच्दैनन् । कम्पनीहरूले फिउचर गोल्डका लागि यस्तो लगानी गरेका हुन् । त्यसकारण अवस्था ठिक-ठाक भयो भने पनि तोलाको २ लाख ५२ हजार भन्दा तल झर्दैन, झरिहाले पनि फेरि बाउन्सब्याक भएर यो विन्दुभन्दा माथि नै रहन्छ ।
सुनमा भन्दा चाँदीमा लगानी गर्नु राम्रो
चाँदीको मूल्य भने निरन्तर बढ्दै जान्छ । ईभीको ब्याट्री बनाउन पनि चाँदीको प्रयोग गर्न थालिएको छ । चाइनाका विभिन्न ब्याट्री उत्पादक कम्पनीहरूले सर्ट ब्लेट ब्याट्री निर्माणका लागि चाँदीको प्रयोग गर्न सुरु गरेका छन् । यस्तै अन्य विभिन्न ग्याजेट्स वा डिभाइसमा पनि चाँदीको प्रयोग सुरु भएको छ ।
यसले गर्दा पनि चाँदीको माग बढ्दै जाने र यसको मूल्य निरन्तर बढ्दै जानेछ ।
आर्थिकन्यूज