काठमाडौँ। नेपाल धितोपत्र बोर्ड र विद्युत नियमन आयोगबीच नेपालको पूँजी बजार र विद्युत उत्पादन क्षेत्रको समग्र विकास र स्थायित्व सुदृढ बनाउने विषयमा छलफल भएको छ ।
खुमलटारस्थित बोर्डको कार्यालयमा भएको संयुक्त बैठकमा मुख्य रूपमा पूँजी बजारमार्फत विद्युत उत्पादन परियोजनामा लगानी प्रवर्द्धन, नियामक समन्वय र नीतिगत सामञ्जस्य कायम गर्ने विषयमा केन्द्रित छलफल गरिएको थियो। दुवै निकायका प्रतिनिधिहरूले दिगो वित्तीय स्रोत परिचालनका लागि पारदर्शी, प्रभावकारी र लगानीकर्तामैत्री संयन्त्रको आवश्यकतामा सहमति जनाएका छन्।
बैठकमा बोर्ड र आयोगका प्रमुखहरूले पूँजी बजारमा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने, लगानीका अवसरहरू विस्तार गर्ने र विद्युत उत्पादन तथा पूँजी बजारबीचको समन्वय सुदृढ गर्ने उद्देश्यले दुवै निकायबीच निरन्तर सहकार्य, सूचना आदान–प्रदान र संयुक्त पहललाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।
साथै, पूँजी बजार र विद्युत क्षेत्रबीचको सम्बन्ध थप संस्थागत र व्यवस्थित बनाउन दुवै निकायका प्रतिनिधिहरूबाट संयुक्त कार्यदल गठन गर्ने निर्णय भएको छ। उक्त कार्यदलले लगानीसम्बन्धी नीतिगत विषय, नियामकीय समन्वय र विद्यमान नियम कानूनमा आवश्यक परिमार्जन गर्ने र ठोस उपाय पहिचान गर्ने काम गर्नेछ।
यसले आगामी दिनमा विद्युत परियोजनामा लगानीकर्ताको भरोसा बढाउने, लगानी प्रवाह सुनिश्चित गर्ने र दिगो आर्थिक वृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
बैठकमा बोर्डतर्फबाट अध्यक्ष सन्तोष नारायण श्रेष्ठ, कार्यकारी निर्देशकहरू विनयदेव आचार्य, मुक्तिनाथ श्रेष्ठ, रुपेश के.सी. तथा आयोगतर्फबाट अध्यक्ष डा. राम प्रसाद धिताल, सदस्यहरू डा. मधुसुदन अधिकारी र भगिरथि भट्टराई ज्ञवाली लगायत अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो।
आर्थिकन्यूज