काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भवनमध्ये केवल ४.९ प्रतिशत भवन बीमा भएको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको “क्षतिको मूल्याङ्कन र सार्वजनिक संरचनाको पुननिर्माण योजना सम्बन्धी प्रतिवेदन” अनुसार, प्रदर्शनका कारण कुल २ हजार ६७१ भवन क्षतिग्रस्त भएका छन् । तर, तीमध्ये केवल १३० भवन बीमा भएको प्रतिवेदनमा उल्लेख छ । क्षतिग्रस्त भवनको बीमांक रकम ३४ अर्ब ९५ करोड ७० लाख रहेको छ ।
बीमा भएका भवनमध्ये सरकारी भवन १९ र निजी भवन १११ रहेको छ । क्षति भएका भवनमध्ये १२१ भवनको दाबी भइसकेको छ भने ११२ भवनको दाबी प्रक्रियामा छ । ६ भवनको मूल्याङ्कन अझै भएको छैन भने ३ भवनको मूल्याङ्कन प्रक्रिया सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ ।
क्षतिको वितरण अनुसार संघमा १ हजार १२० भवन क्षतिग्रस्त भएका छन् । यसमध्ये १७ भवन मात्र बीमा गरिएको छ भने १ हजार १०३ भवन बीमा नै भएको छैन । बीमा भएका भवनको कुल बीमांक रकम ६६ करोड २४ लाख रुपैयाँ रहेको छ ।
प्रदेशमा ३०९ भवन क्षतिग्रस्त भएका छन्, तर तीमध्ये कुनै पनि भवन बीमा नभएको प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहमा ७०५ भवन क्षति पुगेका छन्, जसमा केवल २ भवन बीमा भएको छ । ती दुई भवनको बीमांक रकम एक करोड ५० लाख रुपैयाँ रहेको छ । क्षति भएका भवनमध्ये एक मात्र भवनको दाबी प्रक्रिया अघि बढेको छ ।
निजी तथा सामुदायिक भवनमा प्रदर्शनका कारण ५३७ भवन क्षतिग्रस्त भएका छन् । यसमध्ये १११ भवन बीमा भएको पाइएको छ । बीमा भएको भवनको कुल बीमांक रकम ३४ अर्ब २७ करोड ९६ लाख रहेको छ । बीमा भएको भवनमध्ये ९४ भवनको दाबी प्रक्रिया अघि बढेको, ६ भवनको मूल्याङ्कन नभएको, ३ भवनको मूल्याङ्कन सम्पन्न भएको र ८ भवनको प्रक्रिया सुरु नभएको प्रतिवेदनमा उल्लेख छ ।
क्षतिग्रस्त भवनमध्ये ९०६ भवनमा मर्मत कार्य सुरु गरिएको छ भने ४९६ भवनको मर्मत कार्य सम्पन्न भइसकेको छ । १ हजार २६९ भवनको मर्मत कार्य भने सुरु भएको छैन ।
संचालनको दृष्टिले, ८९६ भवन पूर्ण रूपमा सुचारु छन् भने ९९८ भवन आंशिक रूपमा सुचारु भएका छन् । तथ्यांक अनुसार, करिब ३५ प्रतिशत भवन अझै पूर्ण रूपमा सञ्चालनमा आएको छैन।
प्रदर्शनका कारण क्षतिग्रस्त भवनमध्ये अगलागी र तोडफोड दुबै कारणबाट १ हजार ८७५ भवन, अगलागीबाट मात्र १८८ भवन, र तोड़फोडबाट मात्र ६०८ भवन क्षतिग्रस्त भएका छन् । यसरी भवनतर्फ कुल ३९ अर्ब ३१ करोड ७५ लाख रुपैयाँ क्षति भएको छ ।
प्रतिवेदन अनुसार सरकारी भवनको क्षति २० अर्ब ९ करोड (५१%), निजी भवनको क्षति १५ अर्ब २८ करोड ७३ लाख (३९%), र सामुदायिक तथा अन्य भवनको क्षति ३ अर्ब ९४ करोड (१०%) पुगेको छ ।
आर्थिकन्यूज