काठमाडौं । पुँजीबजारमा बैंक र बीमा कम्पनीहरुको प्रभुत्व क्रमिक रुपमा घट्दै गएको छ । विगत केही वर्षमा बैंक तथा बीमा क्षेत्रले सेयर बजारमा ठूलो हिस्सा ओगट्दै आएको भए पनि हालको बजार विवरणले उनीहरुको शेयर कारोबार र बजार हिस्सा घटेको देखाएको छ ।
पुँजीबजारमा जलविद्युत लगायत अरु क्षेत्रका कम्पनीको सूचीकरण बढ्दै गएकाले बैंक तथा वित्तीय संस्था र बीमाको हिस्सा खुम्चिदै गएको हो । हाल बैंक र बीमाको हिस्सा बजार पुँजीकरणको करिब ५२.५ प्रतिशतमा सीमित भएको छ । केही वर्ष अघिसम्म ७२ प्रतिशत रहेको थियो। दोस्रो बजारमा जलविद्युत्, होटल, पर्यटन, उत्पादन र अन्य उद्योगका कम्पनीहरूको संख्या बढ्न थालोपछि बैंक र बीमाको खुम्चिन थालेको हो ।
गत महिनाको अन्त्यसम्म पुँजी बजारमा सूचीकृत कम्पनीहरुमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.५ प्रतिशत रहेको छ । आर्थिक वर्ष ०७५-७६ मा पुँजी बजारमा बैंक तथा वित्तीय संस्था र बीमा क्षेत्रको हिस्सा करिब ७२ प्रतिशत थियो । लामो समयदेखि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको बाहुल्य रहँदै आएकोमा दोस्रो बजारमा बिस्तारै जलविद्युत, होटल तथा पर्यटन लगायत उपसमूहको हिस्सा बढ्दै गएको जानकारहरु बताउँछन् ।
गत मंसिरको अत्यसम्ममा शेयरबजारमा जलविद्युत्कम्पनीको हिस्सा १५.२ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.५ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.९ प्रतिशत, होटेलको हिस्सा ३.१ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.४ प्रतिशत रहेको छ ।
दोस्रो बजारमा एउटै क्षेत्रको प्रभुत्व धेरै हुँदा जोखिम हुन्छ । यसकारण पनि विभिन्न क्षेत्रका कम्पनीलाई बजारमा भित्र्याएर बैंक तथा वित्तीय संस्था र बिमाको हिस्सा घटाउँदै जाने योजना सरकार र सम्बन्धित नियामक निकायको छ । यही कारण वास्तविक क्षेत्रका कम्पनीलाई दोस्रो बजारमा सूचीकृत हुन सरकारले करलगायत विभिन्न सुविधा दिँदै आएको छ । तर ती सुविधाबाट कम्पनीहरू उत्साहजनक रुपमा दोस्रो बजारमा सूचीकृत हुन आएका छैनन् ।
एकवर्ष अघि अर्थात गतवर्षको मंसिरसम्म सूचीकृत कम्पनीहरुमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५४.५ प्रतिशत रहेको थियो । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.५ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ६.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.२ प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.६ प्रतिशत रहेका थियो ।
केही वर्षयता जलविद्युत् क्षेत्रका कम्पनीहरूले सर्वसाधारणलाई सेयर जारी गरेर पैसा संकलन गर्ने क्रम बढेको छ । यसले नेप्सेमा सूचीकृत जलविद्युत् कम्पनीको संख्या बढेको छ भने सिमेन्ट, पर्यटनलगायत क्षेत्रका पनि केही कम्पनी सूचीकृत भएका छन् । यसकारण अरु क्षेत्रका कम्पनीको संख्या बढ्दै जाँदा बैंक तथा वित्तीय संस्था र बीमा क्षेत्रका कम्पनीहरुको संख्या बढ्न सकेको छैन । जसकारण समग्र पुँजी बजारमा बैंक तथा वित्तीय संस्था र बीमाको हिस्सा घट्दै गएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार । २०८२ मंसिर मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २८५ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । त्यस्तै ९७ जलविद्युत्कम्पनी, २६ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् ।
२०८१ मंसिर मसान्तसम्म नेप्सेमा सूचीकृत कम्पनीहरुको संख्या २६७ रहेको थियो । सूचीकृत कम्पनीहरुमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका थिए ।२०८० मंसिरसम्ममा पनि सूचीकृत कम्पनीहरूको संख्या २६७ नै रहेको थियो ।
चालुआर्थिक वर्ष २०८२-८३ को ५ महिनामा कुल ४३ अर्ब २४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्। यस अवधिमा २१ अर्ब ९६ करोड बराबरको साधारण सेयर, ७ अर्ब ४६ करोड बराबरको हकप्रद सेयर, ६ अर्ब २५ करोड बराबरको म्युचुअल फन्ड, ३ अर्ब ४० करोड बराबरको डिबेन्चर, ३ अर्ब २४ करोड बराबरको बोनस सेयर र ९२ करोड ५० लाख बराबरको एफपीओ गरी कुल ४३ अर्ब २४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ मङ्सिर मसान्तमा सूचीकृत ९ अर्ब ११ करोड सेयरको चुक्ता मूल्य.८ खर्ब ९६ अर्ब ६० करोड रहेको छ ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ११ अर्ब ८३ करोड बराबरको म्युचुअल फण्ड, ५ अर्ब १५ करोड बराबरको साधारण सेयर र ३ अर्ब ७८ करोड बराबरको हकप्रद सेयर गरी कुल.२० अर्ब ७५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।
२०८१ मङ्सिर मसान्तमा २६८२.२९ रहेको नेप्से सूचकांक २०८२ मङ्सिर मसान्तमा २६०१.६२ कायम भएको छ । २०८२ मङ्सिर मसान्तमा धितोपत्र बजार पँुजीकरण ४३ खर्ब ६८ अर्ब १७ करोड कायम भएको छ । २०८१ मङ्सिर मसान्तमा बजार पुँजीकरण ४४ खर्ब ४९ अर्ब ११ करोड रहेको थियो । २०८१ को मङ्सिर मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७७.९३ प्रतिशत रहेकोमा २०८२ मङ्सिरमा ७१.५२ प्रतिशत रहेको छ ।
आर्थिकन्यूज