काठमाडौं । आज आइतबार ४ कम्पनीले आफ्नो वार्षिक साधारण सभा (एजीएम) गर्न लागेका छन् । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर, इष्टर्न हाइड्रोपावर, मध्य भोटेकोशी जलविद्युत र सागर डिस्टिलरी कम्पनीले सेयरधनीहरूसँग विभिन्न प्रस्ताव छलफल गर्न लागेका हुन्।
युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेड
कास्की, पोखरास्थित आभ्या क्लबमा बिहान ११ बजे बस्ने साधारणसभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ५% बोनस सेयर र ०.२६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। सभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरणहरूमा छलफल गरिनेछ।
साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति, रिक्त सञ्चालक पदमा मनोनयन, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पेश गरिनेछ। कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गरिसकेको छ।
इष्टर्न हाइड्रोपावर लिमिटेड
काठमाडौँको वागबजारस्थित होटल हार्दिकमा बिहान ११ बजे बस्ने नवौं वार्षिक साधारणसभाले १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण अनुमोदन गरिनेछ। साथै लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण, प्रबन्धपत्र संशोधन र सञ्चालक समितिमा विभिन्न समूहबाट सदस्य निर्वाचनसम्बन्धी प्रस्ताव पनि पेश हुनेछ। कम्पनीले पुस २० गते बुक क्लोज गरिसकेको छ।
सागर डिस्टिलरी लिमिटेड
नवलपुर, गैँडाकोटस्थित इला रिसोर्टमा बिहान साढे ९ बजे बस्ने तेस्रो वार्षिक साधारणसभाले २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरणहरूमा छलफल गरी पारित गर्नेछ।
साथै चालु आर्थिक वर्षको लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्ति, दुई जना सर्वसाधारण सञ्चालकको निर्वाचन र एक जना सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि पेश गरिनेछ। कम्पनीले पुस १४ गते बुक क्लोज गरेको थियो।
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड
काठमाडौंको चण्डोलस्थित कुण्डलिनी दरबार बैंक्वेटमा बिहान ११ बजे बस्ने १३ औं र १४ औं वार्षिक साधारणसभामा आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, आय–व्यय तथा नगद प्रवाह विवरणहरू अनुमोदन गरिनेछ।
यसैगरी आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति, पारिश्रमिक निर्धारण र विभिन्न संघ–संस्थालाई आर्थिक सहयोग दिने प्रस्ताव पनि पेश हुनेछ। बुक क्लोज पुस १६ गते सम्पन्न भएको थियो।
यी सभामा भाग लिनका लागि बुक क्लोज मितिमा कायम रहेका सेयरधनीहरूले मात्र सहभागिता जनाउन सक्नेछन्।
आर्थिकन्यूज