काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनमा क्षतिग्रस्त भएका सरकारी सवारी साधनमध्ये केवल १० प्रतिशत सवारी साधनको मात्रै बीमा भएको पाइएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको “क्षतिको मूल्याङ्कन र सार्वजनिक संरचनाको पुननिर्माण योजना सम्बन्धी प्रतिवेदन” अनुसार आन्दोलनमा क्षतिग्रस्त भएका सवारी साधनमध्ये ८४८ वटा सवारी साधनको मात्रै बीमा भएको पाइएको छ। आन्दोलनमा ८ हजार ४३० वटा सवारी साधन क्षतिग्रस्त भएका थिए।
प्रतिवेदन अनुसार सात अर्ब ४४ करोड ७६ लाख रुपैयाँ बराबरको सवारी साधनको क्षति भएको छ। तर, बीमा भएको सवारी साधनको बीमा रकम ७६ करोड १० लाख रुपैयाँ मात्रै रहेको प्रतिवेदनमा उल्लेख छ।
मन्त्रालयका अनुसार ५ हजार ८३९ वटा चालु अवस्थामा रहेका र २ हजार ५९१ वटा चालु अवस्थामा नरहेका सवारी साधन क्षतिग्रस्त भएका छन्। ६ हजार ९३८ वटा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। ८ हजार ८८६ वटा सवारी साधन आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने ६०६ वटा सामान्य रूपमा क्षतिग्रस्त भएका छन्।
१८ करोड ५८ लाख रुपैयाँ बराबरको ३१ वटा हेभी उपकरण क्षतिग्रस्त भएको छ। तर, सात वटा सवारी साधनको दुई करोड १३ लाख रुपैयाँको मात्रै बीमा भएको पाइएको छ। क्षतिग्रस्त उपकरणमध्ये १५ वटा पूर्ण रूपमा क्षतिग्रस्त, १४ वटा आंशिक र २ वटा सामान्य क्षति भएका छन्। क्षतिग्रस्त हेभी उपकरणमध्ये सबै ३१ वटा नै चालु अवस्थामा रहेको मन्त्रालयले जनाएको छ।
३६ करोड ९४ लाख रुपैयाँ बराबरको १७० वटा हेभी सवारी साधन क्षतिग्रस्त भएका छन्। जसमध्ये ३९ वटा सवारी साधनको ५ करोड ८९ लाख रुपैयाँ बराबरको बीमा भएको पाइएको छ। क्षतिग्रस्त भएको हेभी सवारी साधनमध्ये ६३ वटा पूर्ण क्षतिग्रस्त, ३४ वटा आंशिक र १० वटा सामान्य क्षतिग्रस्त भएका छन्। ९६ वटा सवारी साधन चालु अवस्थामा रहेका थिए भने ११ वटा चालु अवस्थामा नरहेको प्रतिवेदनमा उल्लेख छ।
२२ करोड २४ लाख रुपैयाँ बराबरको ७५३ वटा मिनी बस र मिनी ट्रक क्षतिग्रस्त भएका छन्। जसमध्ये १२ वटा मिनी बस र मिनी ट्रकको १ करोड ५० लाख रुपैयाँ बराबरको बीमा भएको पाइएको छ। क्षति भएका मध्ये ३६८ वटा पूर्ण रूपमा क्षतिग्रस्त, १० वटा आंशिक र ७ वटा सामान्य क्षति पुगेको छ।
५ अर्ब ५३ करोड ११ लाख रुपैयाँ बराबरको १ हजार ६११ वटा कार, जीप र भ्यान क्षतिग्रस्त भएका छन्। जसमध्ये ३५६ वटा कार, जीप र भ्यानको ६१ करोड ३० लाख रुपैयाँ बराबरको बीमा भएको पाइएको छ। क्षतिग्रस्त कार, जीप र भ्यानमध्ये ९९५ वटा पूर्ण रूपमा क्षतिग्रस्त, ३९३ वटा आंशिक र २२३ वटा सामान्य रूपमा क्षतिग्रस्त भएका छन्। क्षति पुगेका मध्ये १ हजार ४८४ वटा चालु अवस्थामा रहेका थिए भने १२७ वटा चालु अवस्थामा नरहेको प्रतिवेदनमा उल्लेख छ।
आन्दोलनमा ५ हजार ९४३ वटा मोटरसाइकल पनि क्षतिग्रस्त भएका छन्, जसको मूल्य १ अर्ब १० करोड ७४ लाख रुपैयाँ बराबर रहेको छ। जसमध्ये ४२४ वटा मोटरसाइकलको ५ करोड १५ लाख रुपैयाँ बराबरको बीमा भएको पाइएको छ। क्षति भएका मोटरसाइकलमध्ये ५ हजार १५६ वटा पूर्ण रूपमा क्षतिग्रस्त, ४३५ वटा आंशिक र ३५२ वटा सामान्य क्षति भएका छन्। ४ हजार २२ वटा मोटरसाइकल चालु अवस्थामा रहेका थिए भने १ हजार ९२१ वटा चालु अवस्थामा नरहेको प्रतिवेदनमा उल्लेख छ।

आर्थिकन्यूज