शीर्षकहरू

८ महिनामा १९ सयबाट ५ हजार पुग्यो चाँदीको भाउ, मूल्य वृद्धिमा 'ईभी ब्याट्री फ्याक्टर’

८ महिनामा १९ सयबाट ५ हजार पुग्यो चाँदीको भाउ, मूल्य वृद्धिमा 'ईभी ब्याट्री फ्याक्टर’

काठमाडौं । पछिल्लो ८ महिनामा चाँदीको मूल्य अस्वाभाविक वृद्धि भएको छ । २०८२ जेठ १ गते तोलाको १ हजार ९२५ रुपैयाँ रहेको चाँदीको मूल्य करिब ८ महिना अर्थात् २०८२ पौष २७ गते ४ हजार ९९० रुपैयाँ पुगेको छ ।

यो ८ महिनामा चाँदीको मूल्य १५९.२२ प्रतिशतले वृद्धि भएको हो । अर्थात् २.५९ गुणाले चाँदीको भाउ वृद्धि भएको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।महासंघका अनुसार पछिल्लो २ महिनामा मात्रै चाँदीको मूल्य तोलाको १८ सय बढीले वृद्धि भएको छ । गत मंसिर १ गते चाँदीको मूल्य ३ हजार १५५ रुपैयाँ थियो ।

यसैगरी, पौष महिनामा मात्रै तोलाको ११ सय भन्दा बढीले मूल्य वृद्धि भएको छ । पौष १ गते एक तोला चाँदीको मूल्य ३ हजार ८८५ रुपैयाँ थियो । चाँदीको भाउ यसरी अस्वाभाविक रुपमा वृद्धि हुनुको पछाडि धेरै कारणहरू रहेको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष दियश रत्न शाक्यका अनुसार सोलर प्यानलका लागि चाँदीको प्रयोग गरिनु, विद्युतीय गाडीको ब्याट्री निर्माणमा चाँदीको प्रयोग गरिनु, मोबाइल लगायत इलेक्ट्रोनिक्स ग्याजेटमा पनि चाँदीको प्रयोग गरिन थालेपछि मूल्य आकाशिन थालेको हो।

यसका साथै सुनको मूल्य वृद्धि भएपछि लगानीकर्ताहरु चाँदीतर्फ आकर्षित भएको, चाँदीको मूल्य अझै बढ्ने आशाले ठूला लगानीकर्ताहरुले चाँदी खरिद गरेर स्टकमा राखेका कारणले पनि छोटो समयमा नै चाँदीको मूल्य आकाशिएको उनको भनाई छ । यसैगरी, चाँदीको खानीहरु धेरै नखुलेका, नयाँ खानीहरु नखुलेका, नयाँ खानी खुलाउन पनि लागत महँगो हुने भएकाले पनि चाँदीको मूल्य निरन्तर उकालो लागेको वरिष्ठ उपाध्यक्ष शाक्यको भनाई छ ।

यी विभिन्न कारणहरू भएपनि मूख्य कारण भनेको ईभीको साेलिड स्टेट ब्याट्री निर्माणका लागि चाँदीको ठूलो परिणाम प्रयोग हुने भएकाले मूल्य वृद्धि भएको हो ।

ईभी ब्याट्री र चाँदीको मूल्य वृद्धिको अन्तर्य

ईभीको एडभान्स ब्याट्रीमध्ये सोलिड स्टेट ब्याट्री पनि एक हो । नयाँ टेक्नोलोजि अनुसार निर्माण गरिएको यस प्रकारको एउटा ब्याट्र निर्माण गर्दा मात्रै १ केजीसम्म चाँदीको प्रयोग हुन्छ । जहाँकी लिथियम आइरन फोसफोरस ब्याट्रीमा ५० ग्रामसम्म मात्रै प्रयोग हुन्छ । 

अन्य ईभी ब्याट्रीमा तरल इलेक्ट्रोनाइटको प्रयोग हुन्छ भने सोलिड स्टेट ब्याट्रीमा ठोस इलेक्ट्रोनाइट प्रयोग हुन्छ । जसले गर्दा तुलनात्मक रुपमा आगलागीको सम्भावना न्यून रहन्छ । यस ब्याट्रीको आयु र रेन्ज धेरै हुन्छ भने कम समयमा छिटो चार्ज हुन्छ । सोलिड स्टेटको आयु २० वर्षसम्म हुन्छ । अर्थात् १० हजार चार्जिङ साइकलसम्म यसको आयु रहन्छ ।

एक पटक फुल चार्ज गरेपछि १ हजार किलोमिटरसम्म गुड्छ। जुन चार्ज गर्न जम्मा १५ मिनेट लाग्छ । यिनै कारणहरूले गर्दा विश्वका ठूला कम्पनीहरू यस प्रकारको सोलिड स्टेट ब्याट्री निर्माणमा ठूलो लगानी गर्न थालेका छन् । ताकी भविष्यमा सोलिड स्टेट ब्याट्री प्राय सबै ईभीमा हुनेछ ।

जापान, चिन, दक्षिण कोरिया, अमेरिका, यूरोप लगायतका देशहरूका कम्पनीहरूले यस प्रकारको ब्याट्री उत्पादनका लागि ठूलो लगानी गर्न थालेका छन् । जापानको टोयोटा, सुमिटोमो मेटल मिनिङ लगायत कम्पनीले २०२८ सम्म उत्पादन सुरु गर्ने गरी ९० करोड डलर अर्थात् १ खर्ब १२ अर्ब रुपैयाँ बढी लगानी गरेका छन् ।

त्यसैगरी, दक्षिण कोरियाको सामसुङ एसडीआई, एलजी एनर्जी सोलुसन लगायतका कम्पनीले ३५ करोड डलर अर्थात् ५० अर्ब जती लगानी गरेका छन् । उनीहरुले पनि २०२८ सम्म उत्पादन गरिसक्ने लक्ष लिएका छन् । चिनको सरकारले ८३ करोड डलर अर्थात् १ खर्ब १६ अर्ब बढी लगानी गर्दैछ ।

यसैगरी, अमेरिकाका विभिन्न कम्पनीले १८ अर्ब, यूरोपका विभिन्न देशले ११ अर्ब बढी सोलिड स्टेट ब्याट्री उत्पादनका लागि लगानी गर्दै छन् ।

उक्त कम्पनीहरूले उत्पादन सुरु अघिदेखि नै चाँदी खरिद गरेर स्टोर गर्न थालेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ति कम्पनीहरूले उत्पादन काम सुरु गर्न थालेपछि चाँदीको भाउ कहाँ पुग्छ त्यसको बारेमा अहिले नै अनुमान गर्न भने नसकिने जानकारहरु बताउँछन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष शाक्यले भने अबको केही महिनामा नै नेपाली बजारमा चाँदीको मूल्य तोलाको ६ हजार रुपैयाँ कट्ने आकलन गरेका छन् ।