काठमाडौं । नेपालीको प्रति व्यक्ति श्रम आम्दानी ८७ हजार ८१४ रुपैयाँ हुँदा उपभोग खर्च भने १ लाख ४० हजार १७९ रुपैयाँ पुगेको देखाएको छ । नेशनल ट्रान्सफर एकाउन्टले तयार पारेको नेपालको जीवनचक्र घाटा सम्बन्धी विवरणले आर्थिक वर्ष २०८१/८२ मा नेपालीको जीवनचक्र घाटा ५२ हजार ३६६ रुपैयाँ रहेको छ ।
नेपाली प्रति व्यक्ति श्रम आम्दानीमध्ये ६० हजार ४१५ रुपैयाँ (६९ प्रतिशत) तलब तथा ज्यालाबाट आएको छ भने २७ हजार ३९९ रुपैयाँ (३१ प्रतिशत) स्वरोजगारबाट प्राप्त भएको छ ।
उमेर समूह अनुसार, जन्मदेखि २४ वर्ष उमेर समूहको नेपालीको प्रति व्यक्ति श्रम आम्दानी २७ हजार ५४८ रुपैयाँ छ । जसमध्ये पारिश्रमिक र ज्यालाबाट १७ हजार ४५२ रुपैयाँ, स्वरोजगारबाट १० हजार ९६ रुपैयाँ आम्दानी हुने गरेको छ । यो उमेर समूहको उपभोग खर्च १ लाख २० हजार ८९५ रुपैयाँ पुगेको छ भने जीवनचक्र घाटा ९३ हजार ३४८ रुपैयाँ रहेको छ ।
२५–६४ वर्ष उमेर समूहको नेपाली प्रति व्यक्ति श्रम आम्दानी १ लाख ५८ हजार ६३१ रुपैयाँ रहेको छ । जसमध्ये पारिश्रमिक र ज्यालाबाट १ लाख १२ हजार ५८५ रुपैयाँ र स्वरोजगारबाट ४६ हजार ४६ रुपैयाँ आम्दानी हुने गरेको छ । यो उमेर समूहको प्रति व्यक्ति उपभोग खर्च १ लाख ५९ हजार ३५५ रुपैयाँ पुगेको छ भने जीवनचक्र घाटा ७२४ रुपैयाँ रहेको छ ।
६५ वर्ष भन्दा माथिको उमेर समूहको प्रति व्यक्ति श्रम आम्दानी ३६ हजार २० रुपैयाँ छ । जसमध्ये पारिश्रमिक र ज्यालाबाट १२ हजार ४२८ रुपैयाँ र स्वरोजगारबाट २३ हजार ५९२ रुपैयाँ आम्दानी हुने गरेको छ । यो उमेर समूहको उपभोग १ लाख ४६ हजार ४८८ रुपैयाँ पुगेको छ भने जीवनचक्र घाटा १ लाख १० हजार ४६८ रुपैयाँ रहेको छ ।
नेपालीले निजी उपभोगमा खर्च १ लाख २५ हजार ८२४ रुपैयाँ खर्च गर्ने गरेका छन् । जसमध्ये शिक्षामा ८ हजार २९२, स्वास्थ्यमा १ हजार ७७ र अन्यमा १ लाख १६ हजार ४५५ रुपैयाँ खर्च भएको छ । सार्वजनिक उपभोगमा १४ हजार ३५५ रुपैयाँ खर्च भएको छ । जसमध्ये शिक्षामा ३ हजार २९१, स्वास्थ्यमा १ हजार ९७९ र अन्यमा ९ हजार ८५ रुपैयाँ खर्च भएको छ ।
२४ वर्षसम्मको उमेर समूहले निजी उपभोगमा खर्च १ लाख ४ हजार ५१० रुपैयाँ खर्च गर्ने गरेका छन् भने सार्वजनिक उपभोगमा १६ हजार ३८३ रुपैयाँ खर्च गरेका छन् । २५–६४ वर्ष उमेर समूहले निजी उपभोगमा १ लाख ४७ हजार २२५ र सार्वजनिक उपभोगमा १२ हजार १३१ रुपैयाँ खर्च गरेका छन् । ६५ वर्षभन्दा बढी उमेर समूहले निजी उपभोगमा १ लाख ३१ हजार ४५० र सार्वजनिक उपभोगमा १५ हजार ३८ रुपैयाँ खर्च गरेका छन् ।
नेपालको बार्षिक आम्दानी २५ खर्ब ६१ अर्ब, उपभोग खर्च ४० खर्ब ८८ अर्ब
नेपालको बार्षिक जीवनचक्र घाटा १५ खर्ब २७ अर्ब २१ करोड रुपैयाँ रहेको छ । विवरण अनुसार, नेपालको बार्षिक श्रम आम्दानी २५ खर्ब ६१ अर्ब ४ करोड रुपैयाँ छ । जसमध्ये पारिश्रमिक र ज्यालाबाट १७ खर्ब ६१ अर्ब ९७ करोड, स्वरोजगारबाट ७ खर्ब ९९ अर्ब ७ करोड रुपैयाँ आम्दानी भएको छ। तर उपभोग भने ४० खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।
खर्चमध्ये निजी उपभोग खर्च ३६ खर्ब ६९ अर्ब ६१ करोड रहेको छ । जसमध्ये शिक्षामा २ खर्ब ४१ अर्ब ८२९, स्वास्थ्यमा ३१ अर्ब ४१ करोड र अन्यमा ३३ खर्ब ९६ अर्ब ३६ करोड रुपैयाँ खर्च भएको छ । सार्वजनिक उपभोग ४ खर्ब १८ अर्ब ६५६ करोड रहेको छ । जसमध्ये शिक्षामा ९५ अर्ब ९७ करोड, स्वास्थ्यमा ५७ अर्ब ७० करोड र अन्यमा २ खर्ब ६४ खर्ब ९७ करोड खर्च भएको छ ।
२४ वर्ष उमेर समूहको श्रम आम्दानी ३ खर्ब ८१ अर्ब ९४ करोड रहेको छ । जसमध्ये पारिश्रमिक र ज्यालाबाट २ खर्ब ४१ अर्ब ९६ करोड, स्वरोजगारबाट १ खर्ब ३९ अर्ब ९८ करोड रुपैयाँ आम्दानी भएको छ । यो उमेर समूहको उपभोग १६ खर्ब ७६ अर्ब २१ करोड र जीवनचक्र घाटा १२ खर्ब ९४ अर्ब २६ करोड रहेको छ ।
२५–६४ वर्ष उमेर समूहको जीवनचक्र घाटा ९ अर्ब ६१ करोड रहेको छ । श्रम आम्दानी २१ खर्ब ६ अर्ब २७ करोड छ । जसमध्ये पारिश्रमिक र ज्यालाबाट १४ खर्ब ९४ अर्ब ८८ करोड र स्वरोजगारबाट ६ खर्ब ११ अर्ब ३९ करोड रुपैयाँ आम्दानी भएको छ । खर्च २१ खर्ब १५ अर्ब ८९ करोड छ । निजी उपभोग १९ खर्ब ५४ अर्ब ८२ करोड, सार्वजनिक उपभोग १ खर्ब ६१ अर्ब ६ करोड रहेको छ ।
६५ वर्ष भन्दा बढी उमेर समूहको जीवनचक्र घाटा २ खर्ब २३ अर्ब ३४ करोड छ । श्रम आम्दानी ७२ अर्ब ८२ करोड छ । जसमध्ये पारिश्रमिक र ज्यालाबाट २५ अर्ब १२ करोड र स्वरोजगारबाट ४७ अर्ब ६९ करोड रुपैयाँ आम्दानी भएको छ । उपभोग खर्च २ खर्ब ९६ अर्ब १५ करोड छ । निजी उपभोग २ खर्ब ६५ अर्ब ७५ करोड, सार्वजनिक उपभोग खर्च ३० अर्ब ४० करोड रहेको छ ।
शिक्षा, स्वास्थ्य र रोजगारीमा लगानी गर्न सुझाव
नेशनल ट्रान्सफर एकाउन्टले नेपालमा शिक्षा, स्वास्थ्य र रोजगारीमा लगानी बढाउने सुझाव दिएको छ । यसले वित्तीय समावेशिता, बचत प्रवृत्ति र दीर्घकालीन आर्थिक सुरुआत तथा समावेशी विकास सुनिश्चित गर्न सक्ने देखिन्छ ।
‘देशको कुल उपभोग र श्रम आम्दानी न्यून रहेको छ । काम गर्ने उमेर समूहको हिस्सेदारी बढी भए तापनि सीमित रोजगारी र सीप असमानताले बेरोजगारी बढाउने मुख्य कारण बनेको छ। साथै, काम गर्ने उमेर समूहको ठूलो हिस्साले अस्थायी वा अनियमित रोजगारीमा रहेकाले राष्ट्रिय अर्थतन्त्र अपेक्षित रूपमा वृद्धि गर्न सकेको छैन,’ विवरणमा उल्लेख छ ।
शिक्षा क्षेत्रमा कम लगानीका कारण शैक्षिक पहुँचमा असमानता र वृद्ध जनसंख्याको बढ्दो हिस्साले दीर्घकालीन सामाजिक सुरक्षा, पेन्सन र स्वास्थ्य नीति निर्माणमा चुनौती बढाउने देखिएको छ ।
नेशनल ट्रान्सफर एकाउन्ट जनसांख्यिक उमेर समूहहरूबीचको आर्थिक प्रवाह मापन गर्ने, विश्वव्यापी रूपमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय पद्धति हो । यसले आय, उपभोग, बचत र स्रोतको उमेर अनुसार वितरण तथा पिढीहरूबीचको सम्बन्ध विश्लेषण गरी नीति निर्माणकर्तालाई अन्तरपीढी आर्थिक अवस्था बुझ्न महत्वपूर्ण जानकारी प्रदान गर्छ ।
यसबाट एक पिढीबाट अर्को पिढीमा आर्थिक साधनको प्रवाह र प्रभावबारे सूक्ष्म जानकारी प्राप्त गर्न सकिन्छ । सन् २००२ मा अमेरिका, ताइवान, जापान, इन्डोनेशिया, ब्राजिल, चिली र फ्रान्सले सुरु गरेको परियोजनाले विश्वव्यापी मान्यता प्राप्त गरेको छ । सन् २०१३ मा संयुक्त राष्ट्रसंघबाट औपचारिक अनुमोदन प्राप्त भएको थियो ।
हालसम्म विश्वका १०१ देश यस परियोजनामा सहभागी छन्, जसमा दक्षिण एसियाबाट बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका र म्यान्मार पूर्ण रूपमा संलग्न छन् ।
मुना कुँवर