वीरगन्ज । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले विश्व हिन्दी दिवसको अवसरमा आइतवार भव्य तथा प्रेरणादायी कार्यक्रमको आयोजना गरेको छ। हिन्दी भाषा र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा विद्यार्थी, शिक्षक, सांस्कृतिककर्मी, उद्योग–वाणिज्य क्षेत्रका प्रतिनिधि तथा हिन्दीप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत वीरगञ्ज र आसपासका विभिन्न विद्यालयका विद्यार्थिहरूका लागि भाषण तथा स्वरचित कविता प्रतियोगिताको आयोजना गरिएको थियो। “भारत र नेपालको युगौँ पुराना धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धको महत्त्व” विषयमा केन्द्रित प्रतियोगितामा सहभागी विद्यार्थीहरूले अत्यन्तै उत्साहका साथ आफ्नो विचार प्रस्तुत गरे। उनीहरूको प्रभावशाली अभिव्यक्ति, भाषिक दक्षता र रचनात्मकताले उपस्थित अतिथि तथा दर्शकहरूलाई गहिरो रूपमा प्रभावित बनायो।
कार्यक्रमलाई अझ आकर्षक बनाउन शारदा कला केन्द्र, रक्सौलद्वारा मनमोहक सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। गीत, नृत्य तथा सांस्कृतिक झलकमार्फत भारत–नेपालबीचको साझा सभ्यता, परम्परा र मैत्री भावनालाई जीवन्त रूपमा प्रस्तुत गरिएको उक्त कार्यक्रममा दर्शकहरूले भरपूर मनोरञ्जनका साथै सांस्कृतिक सन्देश पनि प्राप्त गरे।
यस अवसरमा प्रमुख अतिथि भारतीय महावाणिज्य दूत देवी सहाय मीनाले सम्बोधन गर्दै हिन्दी भाषाको विश्वव्यापी विस्तार र भारत तथा नेपालबीचको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन यसको भूमिकामाथि प्रकाश पारे। उनले हिन्दी भाषा केवल सञ्चारको माध्यम मात्र नभई सभ्यता, संस्कृति र आपसी सम्बन्ध जोड्ने सेतु भएको उल्लेख गरे। साथै, उहाँले विश्व हिन्दी दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जारी गरिएको सन्देश पनि वाचन गर्नुभयो, जसमा हिन्दी भाषा र भारतीय संस्कृतिलाई विश्वस्तरमा प्रवर्द्धन गर्ने सरकारको दृढ प्रतिबद्धता प्रष्ट रूपमा व्यक्त गरिएको थियो।
भाषण तथा कविता प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई महावाणिज्य दूत मीनाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे। पुरस्कार वितरण समारोहले विद्यार्थीहरूमा थप उत्साह र प्रेरणा थपेको देखिन्थ्यो।
कार्यक्रममा शैक्षिक संस्थाका प्रतिनिधि, उद्योग तथा वाणिज्य क्षेत्रका व्यक्तित्वहरू, भारत–नेपाल मैत्री संघका सदस्यहरू तथा अन्य हिन्दीप्रेमीहरूको प्रभावशाली उपस्थिति रहेको थियो। सबै अतिथिहरूले यस्तो कार्यक्रमले भाषा, संस्कृति र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने धारणा व्यक्त गरे।
समग्रमा, विश्व हिन्दी दिवस–२०२६ को अवसरमा आयोजित यो कार्यक्रम अत्यन्तै सफल रह्यो। भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले यसमार्फत क्षेत्रमा हिन्दी भाषा र संस्कृतिको प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः सशक्त रूपमा व्यक्त गरेको छ।
अनिल तिवारी