शीर्षकहरू

निजी मेडिकल कलेज एनजिओ बनाउने प्रस्तावले चिकित्सा शिक्षा संकटमा

निजी मेडिकल कलेज एनजिओ बनाउने प्रस्तावले चिकित्सा शिक्षा संकटमा

काठमाडौं । नेपालको चिकित्सा शिक्षालाई धरासायी बनाउन ठूलै कसरत भइरहेको बताइएको छ । राष्ट्रिय चिकित्सा ऐन २०७५ ले निजी मेडिकल कलेजहरुलाई एनजिओ अर्थात् गैरनाफामुलक बनाउन प्रस्ताब गरेर समग्र चिकित्सा शिक्षालाई नै धरासायी बनाउन खोजिएको बताइएको हो ।

नेपाल मेडिकल कलेजको २६ औं वार्षिक साधारण सभामा बोल्दै कलेजका अध्यक्ष प्राध्यापक डाक्टर जैनुद्धिन अन्सारीले निजी मेडिकल कलेजहरुलाई एनजिओकरण गरेर निजी लगानी नै सिध्याउने खेल भइरहेकोले सम्पूर्ण मेडिकल कलेजहरु एकजुट हुनुपर्ने जिकीर गरे । ऐनको दफा ४७ को उपदफा १ अनुसार ऐन प्रारम्भ भएको मितिले दश वर्षपछि नेपाल राज्यभित्र सञ्चालित चिकित्सासम्बन्धी शिक्षण संस्था क्रमशः गैर नाफामुलक र सेवामुलक संस्थाको रुपमा रहने भनिएकोले निजी क्षेत्रबाट अरबौं लगानीमा खुलेका मेडिकल कलेजहरुको भविष्य के हुने चिन्ताको विषय भएको उनको भनाई छ ।

‘यो ऐन लागू भए सबै निजी मेडिकल कलेजहरु कि बन्द गर्नुपर्ने अवस्था आउँछ, कि सरकारलाई बुझाउनु पर्ने हुन्छ । यो ऐन नेपालको चिकित्सा शिक्षा सुधार्न भन्दापनि विगार्न ल्याइएको देखिन्छ । निजी क्षेत्रलाई समाप्त पार्ने उद्देश्यका साथ आएको देखिन्छ ।’ अस्थिर राजनीतिका कारण मुलुकको विकासमा अवरोध भइरहेको र त्यसको मारमा चिकित्सा शिक्षा समेत रहेको प्रा।डा। अन्सारीले औंल्याए । नेपालको चिकित्सा शिक्षा विश्वबजारमा विक्ने भएपनि केही व्यक्तिहरु यसलाई सिध्याउन लागि परेको उहाँको जिकीर छ ।

निजी क्षेत्रकै कारण राज्यले स्वास्थ्य क्षेत्रमा फड्को मारेको चर्चा गर्दै प्रा।डा। अन्सारीले देशको स्वास्थ्य सेवामा निजी क्षेत्रले पुर्याएको योगदानलाई राज्यले नदेखेकोमा गुनासो गरे । ‘स्वदेशमै बसेर लगानी गर्यौं, राज्यलाई करोडौं राजस्व तिर्छौ, जनतालाई सर्वसुलभरुपमा स्वास्थ्य सेवा दिएका छौं, राज्यले लगाएको भन्दा कम शुल्कमा दक्ष जनशक्ति उत्पादन गरका छौं, रोजगारी सृजना गरेका छौं । तैपनि हामीहरु उहाँहरुका नजरमा मेडिकल माफिया भएका छौं । यो भन्दा विडम्बना के हुनसक्छ ?’ प्राडा अन्सारीले प्रश्न गरे ।

नेपाल मेडिकल कलेजका ९८ प्रतिशत विद्यार्थीहरुको उत्तिर्ण
साधारण सभामा कलेजको गत आर्थिक वर्षको प्रगति विवरण पेश गर्दै उहाँले कलेजको शिक्षा, स्वास्थ्य सेवालाई अझ बढी प्रभावकारी र गुणस्तरीय बनाउन प्रयासरत रहेको बताउनु भयो । गत आर्थिक वर्षमा निर्धारण गरिएका लक्ष्यहरु पुरा भइरहेको उनको भनाई छ ।
  
२०५६ सालमा नेपालमै पहिलो पटक नेपालीहरुद्वारा नेपालीका लागि भन्ने नाराका साथ स्थापना गरिएको कलेजमा हाल १६ वटा शैक्षिक कार्यक्रम सञ्चालित रहेको जानकारी दिँदै अध्यक्ष अन्सारीले हालसम्म २३२९ जनालाई डाक्टर बनाई सकिएको र कलेजको उत्तिर्ण प्रतिशत ९८ प्रतिशत रहेको दावी गरे । ‘हाम्रो उत्तिर्ण प्रतिशत ९८ देखि १०० प्रतिशत छ यो अत्यन्त राम्रो पक्ष हो, उले भने ।

गतवर्षदेखि कलेजले शैक्षिक कार्यक्रम, स्वास्थ्य सेवा, पूर्वाधार निर्माण र विस्तारमा ठूलो प्रगति गरेको भन्दै प्राडा अन्सारीले स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा कलेजले हासिल गरेको सफलता प्रशंसायोग्य भएको बताए ।