काठमाडौं । विद्युतीय गाडीको दबदबा रहेको अवस्थामा पनि आइस भेहिकलको आयात उल्लेख्य रहेको छ । सन् २०२५ को तथ्यांक हेर्दा नेपालमा आइस भेहिकल (ट्याक्सी बाहेक प्यासेजन्जर कार)को आयात उल्लेख्य रहेको देखिएको छ ।
२०२५ मा ४ हजार २४५ युनिट आइस भेहिकल भित्रिएको छ । ईभी गाडी आयातका लागि सरकारले भन्सार र अन्त शुक्ल छुट दिएको छ । तर, आइस भेहिकलमा यस्तो कुनै छुट छैन । तथापि आइस भेहिकलको आयात उत्साहजनक नै रहेको पाइएको छ ।
२०२५ मा भित्रिएको ४ हजार २४५ आइस भेहिकमध्ये ह्युण्डाईको वर्चश्व रहेको छ । नेपालमा ह्युण्डाई गाडीको आधिकारिक आयतकर्ता तथा बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हो । जुन लक्ष्मी ग्रुप अन्तर्गतको कम्पनी हो । यस कम्पनीले २०२५ मा ह्युण्डाईको १ हजार ६४७ वटा आइस भेहिकल आयात गरेको छ । जुन समग्र आइस भेहिकलको ३८.८० प्रतिशत हो । यसैगरी, सीजी मोटोकर्पले यो अवधिमा १ हजार ५८ युनिट मारुती सुजुकी आयात गरेको छ । जुन आइस भेहिकल कुल आयातको २४.९२ प्रतिशत हो ।
त्यसैगरी, ६२६ युनिट आयात भएको कियाले १४.७५ प्रतिशत हिस्सा कब्जा गरेको छ भने निसानले ६.०५ प्रतिशत हिस्सा ओगटेको छ । २०२५ मा निसानको २५७ युनिट गाडी आयत भएका थिए । टोयोटाको १९६ युनिट आयात तथा ४.६२ प्रतिशत हिस्सा, महिन्द्राको १८४ युनिट तथा ४.३३ प्रतिशत हिस्सा, भोल्कसेगनको ६१ युनिट तथा १.४४ प्रतिशत हिस्सा, सिट्रोनको ४३ युनिट तथा १.०१ प्रतिशत र स्कोडाको ४२ युनिट आयात हुँदा ०.९९ प्रतिशत हिस्सा ओगटेको छ ।
त्यसैगरी, टाटा र होण्डाको समान २५/२५ युनिट, मित्सुविशिको २१ युनिट, फोर्डको १४, रेन्ड रोभरको १०, ग्रीटवाल र जीपको समान ९/९ युनिट आयात भएको छ । यस्तै, सुबरुको ७, माज्दा र बीएमडब्लुको समान ५/५ र एमजीको १ युनिट आयात भएको छ ।

ईभीको दबदवाका बीच आइसको आयात बढ्यो
सुरुमा ईभीप्रति मानिसहरुमा आकर्षण भएपनि हाल आइस भेहिकल तर्फ मोडीन् थालेको नेपालका लागि निसान गाडीको आधिकारीक आयातकर्ता तथा बिक्रेता पायोनियर मोटोकर्पका एसिस्टेन्ट जनरल म्यानेजर राज कुमार ढकाल बताउँछन् ।
उनका अनुसार ग्राहकहरुले सुरुमा ईभीप्रति आकर्षित भए । तर, पछि फेरि आइसमा नै फर्किन थाले । धेरै यात्रा गरिरहनेका लागि मात्रै ईभी गाडी उपयोक्त हुने उनको भनाई छ । आइस गाडी दैनिक कम यात्रा गर्ने मानिसलाई उपयोक्त हुन्छ । ईभी गाडी चलाए पनि नचाई राखे पनि त्यसको ब्याट्रीको आयु ६/८ वर्ष पछि सकिन्छ । ब्याट्री फेर्नु पर्छ । तर, यता आइस भेहिकल नचलाई राख्दा वा कम चलाउँदा त्यो सर्भिसिङ गर्ने समय पनि लम्बिन्छ ।
यसका साथै आइस भेहिकलको रिसेल भ्यालु उच्च रहेको छ । खरिद गरेको एक वर्षमा बिक्री गर्दा पनि अइस भेहिकलमा ९० प्रतिशत रिसेल भ्यालु पाइन्छ । तर, ईभीमा ६० प्रतिशत पाउन मुस्किल हुने उनको भनाई छ । यीनै कारणले गर्दा आइसमा आकर्षण उच्च हुँदै गएको छ ।
यसैगरी, नेपालका लागि मित्युविशि गाडीको आधिकारिक आयातकर्ता तथा बिक्रेता लियो मोटर्सका जनरल म्यानेजर आशिस श्रेष्ठका अनुसार नेपालको कन्टेक्टमा ईभी कति रिलायबल छ भनेर हेर्न बाँकी नै रहेको छ । यस अवस्थामा ग्राहकहरू आइसमा फर्किन थालेका छन् । गत वर्षको तुलनामा यस वर्ष आइसको आयात बढ्नुको कारण पनि यही भएको उनको भनाई छ ।
कर छुटका कारणले ईभीको आयात वृद्धि भएको भन्दै उनले आइस भेहिकललाई पनि कर छुट दिनुपर्ने धारणा राखेका छन् ।

लक्ष्मण लम्साल