शीर्षकहरू

नाइमा र ट्राफिक प्रहरीबीच ५ वर्षे दीर्घकालीन रणनीतिक सम्झौता

नाइमा र ट्राफिक प्रहरीबीच ५ वर्षे दीर्घकालीन रणनीतिक सम्झौता

काठमाडौं । नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन नाइमा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच काठमाडौँ उपत्यकाका कुल १ हजार ६५१ जना ट्राफिक प्रहरीहरूलाई व्यवहारकुशल सीपहरू तथा नयाँ सवारी प्रविधि सम्बन्धी विषयमा नियमित तालिम प्रदान गर्ने सम्बन्धमा पाँच वर्षे दीर्घकालीन रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

तालिमको उद्देश्य ट्राफिक प्रहरीलाई आधुनिक ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, सेवा–केन्द्रित व्यवहार, जोखिम न्यूनीकरण तथा प्रविधिमैत्री अभ्यास सम्बन्धी विषयमा निरन्तर रूपमा अद्यावधिक बनाउँदै नागरिकसँगको दैनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु रहेको छ ।

ट्राफिक सप्ताह २०८२ अन्तर्गत “सडक दुर्घटना न्यूनीकरण विशेष अभियान” समुद्घाटन कार्यक्रमको अवसरमा हस्ताक्षरित उक्त समझदारीपत्र प्रहरी महानिरीक्षक दान बहादुर कार्की र नाइमाका बोर्ड सदस्य सौरभ ज्योतिबीच गत शनिबार आदान–प्रदान गरिएको हो । समझदारी अनुसार नाइमाले आफ्ना सदस्य कम्पनीहरूको विशेषज्ञता उपयोग गर्दै नयाँ सवारी प्रविधि, सडक सुरक्षा, नवीन प्रविधिको प्रयोग तथा सवारी÷यातायात प्रणालीसँग सम्बन्धित प्राविधिक विषयहरूमा आवश्यक तालिम सामग्री, प्राविधिक स्रोत, विशेषज्ञ सहजीकरण तथा समन्वय उपलब्ध गराउनेछ ।

यसैगरी, ट्राफिक कार्यालयले तालिम कार्यक्रमको प्राविधिक नेतृत्व, सहभागी व्यवस्थापन, अनुगमन तथा गुणस्तर सुनिश्चितता गर्नेछ ।

समझदारी कार्यान्वयन अन्तर्गत पहिलो चरणको तालिम २०८२ माघ ४ गते आइतबारदेखि सुरु हुनेछ । तालिम १७ कार्यदिन निरन्तर सञ्चालन हुने र प्रत्येक सत्रमा १०० जना ट्राफिक प्रहरी सहभागी हुने व्यवस्था गरिएको छ । तालिममा तनाव व्यवस्थापन÷ध्यान, सञ्चार तथा द्वन्द्व व्यवस्थापन, नयाँ सवारी साधन प्रविधिको सैद्धान्तिक एवं प्रत्यक्ष अवलोकन सत्र, ट्राफिक व्यवस्थापनका व्यावहारिक अभ्यास, सडक दुर्घटना न्यूनीकरण, तथा ट्राफिक व्यवस्थापनमा आवश्यक ह्यान्ड–जेस्चर सीप लगायत विषय समेटिएका छन् ।

तालिमको सहजीकरणका लागि इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पस तथा थापाथली क्याम्पसका प्राध्यापकहरू, जीवन विज्ञानका प्रशिक्षकहरू, नाइमाका सदस्य कम्पनीका प्राविधिक विज्ञका साथै आवश्यकताअनुसार अन्य स्वतन्त्र विषय विज्ञहरू सहभागी हुनुहुने जनाइएको छ । यस्तै, तालिमका केही महत्वपूर्ण सत्रहरू ट्राफिक प्रहरी प्रमुख र वरिष्ठ ट्राफिक प्रहरी अधिकृत ज्यूहरूले समेत लिनुहुनेछ । विषयगत प्रस्तुति, व्यावहारिक अवलोकन, अन्तरक्रिया, र श्रव्य दृश्य अवलोकन तालिमको मुख्य ढाँचा रहनेछ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ ट्राफिक प्रहरी उपरीक्षक नवराज अधिकारीले नयाँ सवारी प्रविधि र जनसम्पर्क–केन्द्रित सेवाका विषयमा ट्राफिक प्रहरीलाई निरन्तर रूपमा शिक्षित बनाउनु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै गरे, “ट्राफिक प्रहरी दैनिक रूपमा जनतासँग प्रत्यक्ष सम्पर्कमा रहन्छन्, त्यसैले उनीहरूको व्यवहार कुशल सीपहरू सुदृढ गर्नु र नयाँ सवारी प्रविधिबारे अद्यावधिक गराउनु जरुरी छ ।” उनले दीर्घकालीन साझेदारीमा को निरन्तर प्रतिबद्धता प्रशंसनीय रहेको बताए ।

नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले नाइमाको दृष्टिकोण अनुरूप सडक सुरक्षा प्रवर्द्धन, उपभोक्ता शिक्षा÷सचेतना, दक्ष मानवस्रोत विकास तथा नीति पैरवीमा संस्था निरन्तर सक्रिय रहेको बताइन् । उनले यो दीर्घकालीन सहकार्यले ट्राफिक प्रहरीको क्षमता विकासमार्फत सडक सुरक्षा सुदृढ गर्दै नागरिकमैत्री सेवा प्रवाह सुधार गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिन् ।