शीर्षकहरू

विपन्नका लागि आएको कम्बल प्रशासनमै थन्कियो, जिप्रका पर्साको लापरवाही सार्वजनिक

विपन्नका लागि आएको कम्बल प्रशासनमै थन्कियो, जिप्रका पर्साको लापरवाही सार्वजनिक

वीरगञ्ज। जनताप्रति उत्तरदायी हुनुपर्ने जिल्ला प्रशासन कार्यालय पर्साको गम्भीर लापरवाही फेरि एकपटक सतहमा आएको छ। मधेस प्रदेश सरकार तथा वीरगञ्ज उद्योग वाणिज्य संघले कठ्याङ्ग्रिँदो चिसोबाट विपन्न वर्गको ज्यान जोगाउने उद्देश्यले उपलब्ध गराएको न्यानो कम्बल जिल्ला प्रशासन कार्यालयमै हप्तौँदेखि थन्किएर बसेको तथ्य सार्वजनिक भएपछि प्रशासनप्रति तीव्र असन्तोष व्यक्त हुन थालेको छ।

कडा जाडोका कारण दैनिक जीवन नै कष्टकर बनेको अवस्थामा गरिब, असहाय, वृद्ध–वृद्धा र सडकमै जीवन बिताउन बाध्य वर्गका लागि तत्काल वितरण गरिनुपर्ने कम्बल समयमै नपुग्नु प्रशासनको गैरजिम्मेवारीपनको उदाहरण भएको स्थानीयको गुनासो छ। “जुन जोगी आए पनि कानै चिरेको” भन्ने उखानलाई चरितार्थ गर्दै सरकार फेरिए पनि प्रशासनिक उदासिनता नफेरिएको आरोप उठ्न थालेको छ।

स्थानीय स्रोतका अनुसार मधेस प्रदेश सरकार र वीरगञ्ज उद्योग वाणिज्य संघले सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रशासन कार्यालय पर्सालाई विपन्न वर्गमा वितरण गर्न न्यानो कम्बल उपलब्ध गराएको थियो। तर ती कम्बल सम्बन्धित वडाहरू र लक्षित समुदायसम्म पु¥याउनुपर्ने साटो कार्यालयको गोदाममै थन्किएर बसेका छन्। चिसो दिनप्रतिदिन बढ्दै जाँदा कम्बल नपाएर थुप्रै असहाय नागरिक जोखिमपूर्ण अवस्थामा जीवन गुजार्न बाध्य छन्।

यस विषयमा नागरिक समाज र सामाजिक अभियन्ताहरूले प्रशासनको कडा आलोचना गरेका छन्। उनीहरूका अनुसार प्राकृतिक विपत्ति, महामारी वा चिसो–तातो जस्ता मौसमी संकटमा नागरिकको जीवन रक्षा गर्नु राज्यको पहिलो दायित्व हो। तर प्रशासनिक ढिलासुस्ती र संवेदनहीनताका कारण राहत सामग्री समयमै वितरण नहुनु जनताप्रतिको स्पष्ट बेवास्ता हो।

झन् चिन्ताजनक कुरा के छ भने, जिजेनजी आन्दोलनमा सयौँ युवाले सहादत दिएर स्थापना भएको वर्तमान सरकार जनमुखी हुने अपेक्षा गरिएको थियो। तर सरकार बनेपछि पनि मातहतका निकायहरूमा पुरानै कार्यशैली र उदासिनता देखिनुले सरकारको जनताप्रतिको प्रतिबद्धतामाथि नै प्रश्नचिन्ह खडा भएको छ।

स्थानीय अगुवाहरू भन्छन्, “सरकारको नीति राम्रो भए पनि कार्यान्वयन गर्ने प्रशासन संवेदनशील नभएसम्म जनताले राहत पाउँदैनन्।” उनीहरूले तत्काल थन्किएका कम्बल वितरण गर्न र ढिलाइ हुनुको कारण सार्वजनिक गर्न प्रशासनसँग माग गरेका छन्।

यस विषयमा जिल्ला प्रशासन कार्यालय पर्साको आधिकारिक धारणा आउन बाँकी रहे पनि मौनताले नै लापरवाहीलाई थप बल पु¥याएको जनगुनासो छ। समयमै वितरण गरिएको भए दर्जनौँ विपन्न परिवारले कठ्याङ्ग्रिँदो जाडोमा राहत पाउने थिए।

न्यानो कम्बल जस्तो आधारभूत राहत सामग्री कार्यालयमै थन्किनु केवल प्रशासनिक कमजोरी मात्र होइन, यो जनताको जीवन र सुरक्षाप्रति गरिएको गम्भीर उपेक्षा हो। अब पनि समयमै कदम नचालिए प्रशासनको यो उदासिनता जनआक्रोशमा रूपान्तरण हुने संकेत देखिन थालेका छन्।

यस सन्र्दवमा पर्साका प्रमुख जिल्ला अधिकारी भोलासंग सम्पर्क गर्दा कम्बलहरु बितरण भइरहेको दाबी गरे । उनले भने ,कम्बल बितरण भइरहेको छ ,हामि दुइसय कम्बल बितरण गरिसक्यौ।बिचमा हिन्दु मुस्लीम  तनावले गर्दा अलि ठिलो भएको हो सबै कम्बल तुरुन्तै बाडिने उनको भनाइ थियो ।