काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को अठारौँ वार्षिक साधारणसभा पुस ३० गते सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट प्रतिशेयर ३० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।
साधारणसभामा करिब ९१.५६ प्रतिशत सेयर प्रतिनिधित्व गर्ने सेयरधनीहरूको सहभागिता रहेको थियो। सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू छलफल गरी पारित गरेको छ।
सभामा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सेयरधनीहरूलाई स्वागत गर्दै १८औँ वार्षिक प्रतिवेदन प्रस्तुत गरिन्। उनले तीव्र प्रतिस्पर्धी दूरसञ्चार बजारमा मुनाफाभन्दा सेवाभावलाई प्राथमिकतामा राख्दै दुर्गम तथा विकट क्षेत्रसम्म सेवा विस्तार गर्दै डिजिटल नेपाल निर्माणमा टेलिकमले भूमिका खेलिरहेको बताइन्।
अध्यक्ष अर्यालका अनुसार कम्पनीले अप्टिकल फाइबरमार्फत सूचना महामार्ग निर्माण, विद्युतीय सुशासन प्रवर्द्धन र डिजिटल डिभाइड न्यूनीकरणलाई मुख्य लक्ष्यका रूपमा अघि बढाइरहेको छ। भावी दिनमा मेगा परियोजना सञ्चालनका लागि आवश्यक परे बोनस सेयरमार्फत थप पुँजी जुटाइने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।
समीक्षा अवधिमा कम्पनीले कुल ३८ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरी करिब ६ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ। यस अवधिमा कर तथा शुल्कवापत कुल आम्दानीमध्ये १८ अर्ब ४६ करोड रुपैयाँ नेपाल सरकारलाई बुझाई राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याएको अध्यक्ष अर्यालले जानकारी दिइन्।
जोखिम न्यूनीकरणका लागि आय सुनिश्चितता, कार्यसम्पादन तथा प्राविधिक परीक्षणलाई निरन्तर प्राथमिकता दिइएको उल्लेख गर्दै उनले कम्पनीले वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा र खेलकुद क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको बताइन्।
निकट भविष्यमै राजधानीसहित ठूला सहरहरूमा ‘छ’ सेवा (५जी) सञ्चालनको तयारी भइरहेको बताउँदै अध्यक्ष अर्यालले हालसम्म सातै प्रदेशका ७७ जिल्लाका ७४९ स्थानीय तहमा अत्याधुनिक दूरसञ्चार सेवा विस्तार भइसकेको जानकारी दिइन्। २०८२ असोजसम्म देशभर उच्च गतिको फोरजी सेवा विस्तार सम्पन्न भइसकेको छ।
समीक्षा अवधिमा टूजीतर्फ १४३, थ्रीजीतर्फ १०९ नयाँ बेस स्टेशन थपिएका छन्। हाल कम्पनीका टूजी ४,५४२, थ्रीजी २,९९४ र फोरजी ४,४३७ बेस स्टेशन सञ्चालनमा छन्।
ग्रामीण दूरसञ्चार विकास कोष (RTDF) को सहयोगमा कोशी, मधेश र बागमती प्रदेशका मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने मार्गहरूमा अप्टिकल फाइबर विस्तार गरिएको छ। आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म कुल ८,८३४ किलोमिटर फाइबर नेटवर्क विस्तार भएको कम्पनीले जनाएको छ।
विश्वव्यापी रूपमा भ्वाइस सेवाको माग घट्दै गएको र ओटीटी सेवाबाट चुनौती बढेको अवस्थामा प्रविधिअनुसार सेवा रूपान्तरणमा कम्पनी केन्द्रित रहेको अध्यक्ष अर्यालले बताइन्। डाटा सेवाको गुणस्तर सुधार गर्दै लागत प्रभावी रणनीतिका साथ बजार हिस्सा विस्तार गर्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय साझेदारसँग सहकार्य गरिने पनि जानकारी दिइयो।
सभामा सेयरधनीहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिँदै अध्यक्ष अर्यालले प्राप्त सुझावहरू क्रमशः कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरिन्।
सभाले पारित गरेको लाभांश रकम आजकै मितिबाट एनएमबी बैंकमार्फत सर्वसाधारण सेयरधनीहरूलाई वितरण गरिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।
आर्थिकन्यूज